धूलो दूध कारखानामा जोड


नेपालगन्ज – बाँकेको पिपिरीमा रहेको नेपालगन्ज दुग्ध वितरण आयोजना, कोहलपुरले ६ महिना दूध फालाफाल पाउँछ । अनि, ६ महिना घरघरमा पुगेर खोज्दा पनि दूध पाउँदैन ।
चैत्रदेखि भदौ महिनालाई सुख्खा सिजन मानिन्छ । यो सिजनमा दैनिक दुई हजार लिटर दूध संकलन हुन्छ । असोजदेखि फाल्गुन महिनासम्मलाई फल्स सिजन भनिन्छ । यो बेलामा दूध फालाफाल हुन्छ । दैनिक दश हजार लिटरसम्म दूध संकलन हुने गर्दछ ।
ड्राई र फल्स सिजन बीचको दूधको माग र आपूर्तिको चक्रलाई व्यवस्थापन गर्न पनि धूलो दूध उत्पादन कारखानाको आवश्यकता महसुस गरिएको हो । खपत भन्दा बढी भएको दूधलाई धूलो दूधमा रुपान्तरण गर्ने र सुख्खा सिजनमा हुने दूधको कमीलाई पनि धूलो दूधको प्रयोगले आपूर्तिमा सहज गराउने आयोजनाका प्रमुख दिलिप चौधरीको भनाई छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमै धूलो दूध उत्पादन कारखाना छैन । धूलो दूध कारखाना सञ्चालन गर्न सकेमा यी प्रदेशमा बस्ने कृषकले उत्पादन गरेको दूधको उचित व्यवस्थापन गरी आर्थिक रुपमा जीवनस्तर उकास्न सकिने प्रमुख चौधरीको बुझाई छ ।


देशमै पहिलो पटक वि.सं. २०२६ साउन १ गते नेपाल सरकारको स्वामित्वमा रहने गरी दुग्ध विकास संस्थानको स्थापना भएको थियो । वि.सं. २०५६ मा नेपालगन्ज दुग्ध वितरण आयोजना सञ्चालनमा आयो । यहाँ प्रतिघण्टा एक हजार लिटर क्षमताको दूध प्रशोधन गर्न सक्ने अत्याधुनिक द्ूध प्रशोधन कारखाना रहेको छ । आयोजनाको आफ्नै चार विगाह जमिन छ । धूलो दूध उत्पादन कारखाना स्थापना गर्न जग्गाको अभाव हुँदैन । धूलो दूध उत्पादन कारखाना बनाउन ५० करोडको लागत अनुमान गरिएको छ ।
आयोजनाको दूध तथा दुग्ध पदार्थको बिक्री गर्ने मुख्य कार्यक्षेत्र बाँके, बर्दिया, दाङ, सुर्खेत र जुम्ला जिल्ला रहेको छ । आयोजनाले स्थापनाकालदेखि नै प्रशोधित दूध, दही, घ्यू, पनिर, मखन, मोजरेल्ला चीजलगायत उत्पादन गर्ने गरेको छ । आयोजनाअन्तर्गत लमही दूध चिस्याउने केन्द्र, दाङ, छिन्चु दूध चिस्याउने केन्द्र, सुर्खेत, सानोश्री दूध चिस्याउने केन्द्र, बर्दिया, भूरीगाउँ दूध चिस्याउने केन्द्र, बर्दिया, शान्तिनगर दूध संकलन केन्द्र, दाङ गरी ५ वटा दुग्ध चिस्यान केन्द्रहरु सञ्चालनमा रहेको छ ।
कृषकले समयमै पैसा नपाउने समस्या पनि समाधान हुँदै गएको छ । आयोजनाका प्रमुख चौधरीले जेठ महिनासम्मको ५ करोडबढी रुपैया भुक्तानी गरिसकेको जानकारी दिए । असारदेखिकोे भुक्तानी गर्न बाँकी रहेको छ । असारमा ३५ लाख, साउनमा ३६ लाख, भदौमा ५० लाख, असोजमा ५० लाख बढी भुक्तानी दिन बाँकी रहेको छ ।
लुम्बिनी प्रदेशमा ग्रामीण अर्थतन्त्रको बलियो आधारका लागि दुग्ध व्यवसायको प्रवद्र्धन गरी दूधको व्यवस्थापन गरी आत्मनिर्भरताको लागि पनि धूलो दूध उत्पादन कारखाना स्थापनाका लागि प्रस्ताव गरिएको चौधरीको बताए ।


error: यो सुविधा उपलब्ध छैन !