चौथो दिन २५ लाख बढी संकलन


नेपालगन्ज – प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा शिलालेखमा नाम लेखाउने दाताहरुको संख्या उल्लेख्य थपिएकाे छ । आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै यस अघि दान रकम बढाउने र शिलालेखमा लेखिने बराबरको दान गर्नेहरुको संख्या बढेको हो ।

कथा वाचनको चौथोे दिन २५ लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिले जनाएको छ । आजको कथा वाचनमा नेपालगन्जका स्थानीय बैश्य, मारवाडी र मधेशका स्थानीयबासीको उल्लेख्य उपस्थिती रहेको थियो

वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको चौथो दिन महोत्सवमा संगीतमय कलाकार टोलीबाट कृष्ण जन्मोत्सव र रामको वनबासको नाट्य प्रदर्शन गरेका थिए । राम वनबासमा भरतको विलापको नाट्य प्रदर्शनमा उपस्थित दर्शनार्थीहरुको आँखाबाट आँसु खसेका थिए ।

आजपनि पण्डित पोखरेलको प्रवचनका बीचमा उनको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरेकोे थियो । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट तालिका गडगडाहटले स्वागत र सम्मान गरेका थिए ।

आर्थिक समितिले दिएको जानकारी अनुसार कथा प्रवचनका बीच नेपालगन्जका प्रतिस्थित कम्प्युटर व्यवसायी संजय थापाबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ दान गरे । वैकुण्ठधाम निर्माणका लागि भन्दै आजै नेपालगन्जका व्यवसायी सन्तोष कुमार कनोडियाबाट ३ लाख १ हजार १११ रुपैयाँ, राजेश कुमार गुप्ताबाट १ लाख ५१ हजार १११, श्यामसुन्दर अधिकारीबाट १ लाख ११ हजार १११ रुपैयाँ, वरिष्ठ अधिवक्ता लोकबाहदुर शाहबाट १ लाख ११ हजार १११ रुपैयाँ प्रदान भएको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

त्यसैगरि निलबहादुर शाक्यबाट ५१ हजार १११, जगतदेबी खड्काबाट २५ हजार १०५ दान गरेको श्रेष्ठले बताए । केही दानकर्ताहरुले दानको प्रतिबद्धता व्यक्त गरेको र अधिकांस दाताहरुबाट नगद, चेक र क्युआरबाट दान प्रदान गरेको उनले बताए ।


error: यो सुविधा उपलब्ध छैन !