बाघ आतंक : एयरपोर्टमा छोरी लिएर आउ भनेका थिए…


नेपालगन्ज – मलेसियामा रहेका वीरेन्द्र पुनको असोज २ गते नेपाल आउने पक्का भइसकेको थियो । दुई महिनाका लागि घर आउन थालेका वीरेन्द्रले घरका सबै सदस्यलाई केही न केही कोशेली किनिसकेका थिए । तीन महिनाको गर्भमा रहदा आफू विदेशिएका वीरेन्द्रले पहिलो पटक छोरीलाई भेट्दै थिए । छोरीका लागि वीरेन्द्रले विशेष सामान किनेर झोलामा प्याक गरेका थिए ।
वीरेन्द्रको छोरीसँग भिडियो कल भइरहन्थ्यो । दुई वर्ष दुई महिनाकी छोरीको तोतेबोलीले वीरेन्द्र मख्ख हुन्थे । वीरेन्द्र २९ महिनापछि घर फर्किदै थिए ।
भदौ ३० गते राती वीरेन्द्रको घरमा बज्रपात भयो, छोरीलाई बाघले लग्यो । राती साढे ७ बजेतिर खाना खाइसकेपछि घरदेखि अलि पर खोरमा राखिएका बाख्रालाई सधैंझै अर्को खोरमा सार्ने तयारी हुँदै थियो । आमा सीता पुन त्यसको तरखर गर्दै हुनुहुन्थ्यो । आमा घरभित्र पस्दा छोरी बाहिर निस्केकी रहिछन् । बाख्रालाई दिन रोटी लिएर निस्केकी बालिकालाई धारा नजिकबाट बाघले तानेर लगेछ । छोरी कतै देखिइनन् । जताततै खोजियो । धारा भन्दा अगाडि आठा (आली) मा खुन देखियो, धान मडारिएको थियो । हल्लीखल्ली भयो । छिमेकीहरु आए । बाघले नै लगेको देखियो ।
वीरेन्द्रले सीतालाई आफू आउदा नेपालगन्ज विमानस्थलमा छोरीलाई लिएर आउनु भनेका थिए । तर आउनु भन्दा दुई दिनअघि नै त्यस्तो घटना भयो । वीरेन्द्रलाई छोरीसँग भेट्न लेखेको रहेनछ । वीरेन्द्र भन्नुहुन्छ, ‘मेरो घर आउने कुरा पहिले नै पक्का भइसकेको थियो । छोरीको लागि पनि सामान किनेर राखिसकेको थिए । घर हिड्नै लागेका बेलामा दुःखद घटना सुने । छोरीसँग भेट्न नलेखेको रहेछ । हाम्रो परिवारमा बज्रपात भयो ।’
वीरेन्द्रका १३ र ९ वर्षका छोरा छन् । वीरेन्द्र मलेसिया जाने र आउने गरिरहनु हुन्छ । १९÷२० महिनामा वीरेन्द्र घर फर्किनुहुन्थ्यो । यसपाली के–के नमिलेर २९ महिनामा फर्किदै हुनुहुन्थ्यो । अरु वर्ष भन्दा अलि ढिला गरी घर फर्किदा वीरेन्द्रले छोरी भेट्न पाउनु भएन ।
दशैं नजिकै आइसकेको छ । विदेश गएको मान्छे घर फर्किदा जुनसुकै घरमा हाँसीखुशी हुन्छ नै । वीरेन्द्रको घरमा त्यस्तो छैन । सुनसान छ । मलिन अनुहार लगाएर बसेका छन् । वीरेन्द्र र सीता मन थामेर त्यो घटना बिर्सिन खोज्दै हुनुहुन्छ । तर, के गर्नु ? धारामा गइरहनु पर्छ । बाख्राको खोरमा जानै पर्छ । त्यहीबाट छोरीलाई बाघले टिपेर लग्यो । दिमागमा त आइहाल्छ ।
खजुरा गाउँपालिका वडा नं. ६, सिमलघारी र आसपासका गाउँ त्यो घटनापछि आतंकित छ । स्थानीय रातीमा बाहिर निस्किन छोडेका छन् । बालिका लैजाने बाघलाई नियन्त्रण गर्न धेरै प्रयास गरेपनि सकेका छैनन् । ठाउँठाउँमा क्यामेरा जडान गरिएको छ, पासो थापिएको छ । हात्तीसहित डार्ट (बेहोस बनाउने) टोली परिचालन गरिएको छ । नियन्त्रणका अनेक उपाय अपनाइएको छ । तर, बालिका लैजाने बाघ नियन्त्रणमा आएको छैन । त्यो बाघ नियन्त्रणमा नआउदा गाउँले त्रसित छन् ।
बाँके र बर्दियाको बीचमा पर्ने त्यो मानखोलाको जंगलमा यसअघि पनि पटक–पटक बाघ देखा पर्ने गरेको थियो । मानखोला पारी बर्दियातर्फको जंगल पातलो भएपनि वारी बाँकेतर्फ ठूलो झाडी रहेको छ । त्यहाँ बच्चासहित बघिनी देखा पर्ने गरेको गाउँलेहरु बताउँछन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै राष्ट्रिय तथा सामुदायिक वनमा बाघ देखा पर्ने गरेका छन् । जानकारहरुका अनुसार, बाघको आफ्नो क्षेत्र (एरिया) हुन्छ । त्यो एरियामा अर्को बाघ आयो र लडाई गरेर जित्यो भने हार्ने बाघले अर्को एरिया बनाउनतिर लाग्छ । शिकार गर्न नसक्ने बुढो र हार्दै गरेको बाघ बस्तीतर्फ सोझिने गर्दछ । बर्दियामा एक सय २५ र बाँकेमा २५ वटा बाघ छन् । बाघको संख्या यो भन्दा बढिसकेको सम्बद्धहरु बताउँछन् । निकुञ्जमा आहारा प्रजातीका जनावर प्रशस्त भएपनि पछिल्लो केही महिनायता बाँके र बर्दियाका सामुदायिक वन नजिकका गाउँमा देखिने गरेको छ । घरमै आउन थालेपछि निकुञ्ज होइन, सामुदायिक वन नजिकका स्थानीय त्रसित छन् ।


error: यो सुविधा उपलब्ध छैन !