कांग्रेसको सय दिने केन्द्रिय अभियान बाँकेमा सुरु

नेपालगन्ज – नेपाली कांग्रेसको सय दिने केन्द्रिय अभियान आजदेखि बाँकेमा सुरु भएको छ ।

बाँकेमा केन्द्रिय प्रतिनिधिका रुपमा खटिएका केन्द्रिय सदस्य कृष्णकिशोर शर्मा घिमिरेले अभियानको शुभारम्भ गरेका हुन् । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्व एवम् घिमिरेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको अभियान असोज ७ गतेदेखि पौष १६ गतेसम्म सञ्चालन गर्ने केन्द्रिय कार्यतालिका छ । तर, मुलुकमा पछिल्लोपटक आएको विपतका कारण कोजाग्रत पूर्णिमासम्मका लागि अभियान स्थगित गरिएको कांग्रेस केन्द्रले जनाएको छ ।

बाँकेमा अभियानको शुभारम्भ गर्दै केन्द्रिय प्रतिनिधि घिमिरेले पार्टीलाई संगठित बनाउँदै चलायमान बनाउन सबै पार्टी पंक्ति लाग्नुपर्नेमा जोड दिए । सबैको साझा प्रयासबाट मात्र पार्टीले चलाएको अभियानले सार्थकता पाउने घिमिरेको भनाई छ । आपसी तिक्तता, बैमनश्य र अन्तरद्वन्द त्यागेर पार्टीलाई बलियो बनाउनतर्फ लाग्न उनले आग्रह गरे ।

अर्का केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले पार्टीले सञ्चालन गरेको सय दिने अभियानले नेता कार्यकर्तामा जागरण ल्याउने विश्वास ब्यक्त गरे । पार्टी सभापति गौडेलले कांग्रेस बाँकेले पनि चार महिने अभियान चलाइरहेको बताउँदै केन्द्र र जिल्लाको अभियानलाई संगसंगै जोडेर पार्टी संगठन निर्माण र सुदृढीकरणमा लाग्न सबैलाई आह्वान गरे । कांग्रेस बाँकेले भदौ २४ गतेदेखि सुरु गरेको ‘जेष्ठ नागरिक, महिला र युवाको योगदानः पार्टी संगठन सुदृढीकरणमा बाँके कांग्रेसको अभियान’ पौष मसान्तसम्म सञ्चालन हुनेछ ।

सय दिने अभियान शुभारम्भ कार्यक्रममा विभिन्न नेता कार्यकर्ताले स्थानीय स्तरमा देखिएको समस्या, संगठन निर्माण र सुदृढीकरणमा देखिएको चुनौति र अभियानलाई जोडेर पृष्ठपोषणका रुपमा आफ्ना भनाई राखेका थिए । जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !