नेपालगन्जमा बढ्दै डेंगु


नेपालगन्ज – नेपालगन्जमा डेंगुको संक्रमण बढी देखिएको छ । जिल्लाका अन्य पालिका भन्दा नेपालगन्जमा संक्रमण बढी देखिएको हो ।
भदौ १६ देखि असोज ९ गते (सेप्टेम्बर २५) सम्ममा बाँकेमा १६ जना विरामी अस्पताल भर्ना भएकोमा आठ जना नेपालगन्जका रहेका छन् । अघिल्लो महिना आठ जना अस्पतालमा भर्ना भएका थिए । बिरामीको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिन्छ । स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन दुर्गा गौतमका अनुसार, सेप्टेम्बर २५ सम्ममा नेपालगन्जका आठ जना, कोहलपुरका चार जना, राप्तीसोनारीका दुई जना, बैजनाथ र डुडुवा गाउँपालिकाका एक एक जना अस्पताल भर्ना भएका छन् । नेपालगन्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा आएका विरामीको संख्या हो यो । निजी अस्पतालहरुमा गएका विरामीको तथ्यांक उपलब्ध हुन सकेको छैन ।
बाँकेमा साउनदेखि नै डेंगुका विरामी देखा परेका थिए । भदौ महिनामा आएर विरामीको संख्या ह्वात्तै बढेको छ । फोकलपर्सन गौतमले साउन र भदौमा बाँकेमा ९२ जनालाई डेंगु देखिएको जानकारी दिनुभयो ।
यसअघि डेंगु भारतबाट आएका मानिस देखा पर्ने गरेको थियो । पछिल्लो समयमा यहीका समुदायमा संक्रमण फैलिएको छ । गतवर्ष असोजदेखि मंसीरसम्म डेंगु देखिएको थियो । दशैं मान्न भारतबाट आउनेले डेंगु बोकेर ल्याएका हुन्थे । यो वर्ष यही समुदायमा बढी फैलिएको छ । दशैं र तिहार मान्न भारतबाट ठूलो संख्यामा नेपाली आउने भएकाले यसपाली समुदायमा अझ बढी संक्रमण फैलिन सक्ने जोखिम बढेको छ ।
शहर बजारमा बढी डेंगु देखिएको छ । एडिस जातको पोथी लामखुट्टेले टोकेपछि डेंगु लाग्ने गर्दछ । यो जातको लामखुट्टे पानी जमेको ठाउँमा बस्छ । घरको गमला, टायर, बोत्तललगायत पानी जमिरहने ठाउँमा यो लामखुट्टे बस्ने गर्दछ । सरसफाईमा ध्यान नदिंदा डेंगुको जोखिम बढेको छ । गर्मी महिनामा लामखुट्टे बढी हुने गर्दछ । नेपालगन्ज गर्मी हुने ठाउँ भएकाले यहाँ हरेक वर्ष डेंगुको जोखिम रहने गर्दछ । यहाँका स्थानीयमा सामाजिक दायित्वबोध नहुँदा पनि समस्या भइरहेको छ । आफ्नो घरपरिसरमा सरसफाई गरेपनि गेटबाहिर फोहोर गर्ने बानीले गर्दा डेंगुजस्ता संक्रमण फैलिने मौका पाएको छ ।
स्वास्थ्य कार्यालयले पालिका र डेंगुका विरामी देखिएका वडासँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम गर्ने गरेको छ । नेपालगन्जमा बेलाबेलामा डेंगु हुन सक्ने संभावित ठाउँमा सरसफाई गर्ने गरिएपनि त्यति पर्याप्त भएका छैनन् । समुदायमा संक्रमण फैलिसकेकाले व्यक्ति व्यक्ति सचेत भएमात्रै संक्रमण रोकथाम हुन सक्ने सम्बद्धहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !