रंगशाला छ, फुटबल खेल्न पाइदैन


नेपालगन्ज – नेपालगन्जमा राम्रो रंगशाला छ । रंगशाला भन्ने वित्तिकै सबैको दिमागमा फुटबल मैदान आइहाल्छ । यद्यपि, रंगशालाभित्र धेरैप्रकारका संरचना हुन्छन्, नेपालगन्जमा पनि छ ।
आर्थिक वर्ष २०७५÷२०७६ मा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको दौरानमा करोडौका संरचना बनाइयो । फुटबल मैदानमा मात्रै ३८ लाखको बर्मुडा दुबो रोपियो । त्यतिबेला बर्मुडा दुबोको खुब चर्चा भयो । अहिले भने बर्मुडा दुबो एउटा पनि देख्न सकिदैन । संरक्षणको अभावमा स्थानीय दुबो र घाँसले बर्मुडाको अस्तित्व मेटाइदियो । राम्रो प्यारापिट बन्यो । यो पनि संरक्षणकै अभावमा धुलाम्यै मात्रै भएको छैन, मक्की सकेको छ ।
रंगशालाको फुटबल मैदान यतिबेला घाँसे मैदानमा परिणत भएको छ, सिरो पलाएको छ । नियमित फुटबल खेल्न नदिंदा मैदानको यो हविगत भएको हो । यो रंगशालामा स्थानीय खेलाडीले अभ्यास गर्न नपाएको करिव सात वर्ष भइसकेको छ । आठौं राष्ट्रिय खेलकुद हुनु भन्दा अघि नै मर्मतको नाममा रोकिएको रंगशाला अझैसम्म खुल्ला गरिएको छैन । राम्रो मैदान छ । खेलाडीले अभ्यास गर्न, खेल्न पाएका छैनन्, बिडम्बना नै भएको छ ।
बाँके जिल्ला फुटबल संघले रंगशाला उपलब्ध गराइदिन माग गरिरहन्छ । माथिको आदेश, कार्यविधि नबनेको भन्दै मैदान उपलब्ध गराइएको छैन । रंगशालामा फुटबल खेल्न नपाएपछि जिल्लाको फुटबलको अवस्थाको स्वतः मूल्यांकन गर्न सकिन्छ । नेपालगन्ज बाहिर क्लवहरुले प्रतियोगिता गरेपनि जिल्लामा नियमित अभ्यास हुन सकेको छैन । जिल्लाकै टीम बनाउनु प¥यो भने अभ्यास बिना नै टिपेर बनाउनु परेको छ । फुटबल संघले हालै जिल्ला लिगहरु (ए र बी डिभिजन) कोहलपुरमा गरेको छ । कतिसम्म भने यो बीचमा नेपालगन्ज गोेल्डकपसमेत खजुरामा गरिएको थियो ।


बाँके जिल्ला फुटबल संघले फेरि मैदानका लागि चौतर्फी दबाब बढाएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका प्रमुख महेश चन्दलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश र केन्द्रमा लबिङ थालेको छ । एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्राविधिक कारण भन्दै रंगशाला उपलब्ध नगराइदिंदा सात वर्षदेखि स्थानीय खेलाडीले अभ्यास गर्न नपाएको बताउनुभयो ।
संघले १२ वर्ष मुनिका बालबालिकालाई नियमित प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि पनि रंगशाला माग गरेको छ । ‘सय बढी बालबालिका प्रशिक्षणका लागि तयार छन्, मैदान मात्रै उपलब्ध गराइदिनु । प्रशिक्षक, फुटबल सबै आफै ल्याउँछौं भन्दा पनि मैदान पाइएको छैन, अध्यक्ष शाहीले भन्नुभयो, अब मैदान उपलब्ध गराउनु पर्छ । प्राविधिक कारण के हो मिलाउनु पर्छ ।’
फुटबल खेल मात्रै होइन, व्यक्तित्व विकास पनि हो । नियमित प्रशिक्षण दिन सकिएमा मोबाइलमा भुल्ने, कुलततर्फ अग्रसर भएका बालबालिकालाई खेलको माध्यमबाट सुमार्गमा ल्याउन सकिन्छ । दिनमा दुई घण्टा खेलमा व्यस्त गराउन सकेमा बालबालिकाको सकारात्मक सोचमा विकास हुन्छ ।
आठौं राष्ट्रिय खेलकुदका बेला कार्यविधि बनेको थियो । त्यसपछि रंगशालामा सेन्थेटिक ट्रयाक थपिएको छ । बनेर अन्तिममा अवस्थामा पुगेको ट्रयाक उप्किएपछि केही महिनाअघि देशव्यापी चर्चा भएको थियो । ठेकेदारले हस्तान्तरण गरिनसकेकाले उसैलाई राम्रो बनाउन निर्देशन दिइएको छ । ट्रयाकसमेत बनेकाले अब नयाँ कार्यविधि बनाएर खेलकुद गतिविधि गर्न दिइनेबारेमा तयारी भइरहेको सम्बद्ध अधिकारीहरु बताउँछन् । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका प्रमुख चन्दले केन्द्रमा कार्यविधि बनिरहेको र त्यो बनेपछि सहज हुने बताउनुभयो । उहाँले आफूले तत्कालका लागि मैदान दिन सकिने वा नसकिने बारेमा केन्द्रमा कुरा राखेको जानकारी दिनुभयो । ‘अनुमतिका लागि केन्द्रमा पठाएको छ । स्वीकृति हुन्छ कि हुँदैन, केही दिनमा थाहा होला, चन्दले भन्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !