‘माथि हामी मिल्दै थियौ, तल तपाईहरुलाई लडाउदै थियौ’

नेपालगञ्ज – नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकताबारेमा नयाँ खुलासा गर्नु भएको छ । प्रचण्डका अनुसार, २०५२ सालदेखि जनयुद्ध थालेको तत्कालिन माओवादीले २०५६ सालदेखि नै एमालेसँग एकताको प्रयास गरेको थियो ।
हुन त कम्युनिष्टका बीचमा पञ्चायतकालदेखि नै समझदारी थियो । माओवादी र एमालेका बीचमा २०५६ सालमा पहिलो पटक एकताको छलफल भएको थियो । २०५८ सालमा प्रचण्ड र केपी ओलीले तीन घण्टा वार्ता गरेका थिए । त्यसपछि माधव नेपालसँग वार्ताहरु भए । २०६० सालमा बामदेव गौतम र युवराज ज्ञवाली रोल्पामा पुगेर सम्झौता गरेपछि एकताले उचाई लिएको थियो । बाँकेको कोहलपुरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले खुलाउनुभयो, ‘माथि हामी मिल्दै थियौ । तल तपाईहरुलाई लडाउदै थियौ । त्यतिबेला सबै कुरा भन्न पनि डर नै थियो ।’


१९ दिने दोस्रो जनआन्दोलन र त्यसपछिको १२ बुँदे सम्झौताले एकताको आधार बलियो बनाएको प्रचण्डको भनाई थियो । २०६३ को विस्तृत शान्ति सम्झौतापछि एमालेसँग एकता गरेर जाने माओवादीले निर्णय नै गरेको थियो । त्यो निर्णय गर्दा पार्टीमा मोहन बैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्दसँगै थिए । प्रचण्डका अनुसार, त्यसपछिका ५-६ वटा बैठकको दस्तावेज भीम रावलसँग होला । माओवादीतिरका कता हराए । २०६३ को अन्त्यमा एकताको अन्तिम तयारीमा पुगेको थियो । चुनाव आइहालेर एकता हुन सकेन । चुनावको मुखमा बराबरीमा पार्टी एकता गर्ने कुरा चलेको थियो । एमालेले मानेन । माओवादी ४५ प्रतिशतमा झर्यो । त्यसमा पनि कुरा मिलेन ।
कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले सबैले एकताको वास्तविकता बुझ्नु पर्ने भन्दै सबै कुरा बताउनुभयो । २०६४ सालमा माओवादीले नै नसोचेको नतिजा आयो । एमाले तल खुम्चियो । प्रचण्डले भन्नुभयो, हामीलाई त संसार जितेजस्तो भयो । २०७० सालको चुनावमा आइपुग्दा माओवादी आकाशबाट धर्तिमा खसिसकेको थियो । जस्तो, एमालेलाई २०६४ मा भएको थियो । त्यसपछि अहंकारले हुँदैन रहेछ भनेर आफूहरु एकताको अझ नजिक पुगेको प्रचण्डको भनाई थियो । २०७४ सालको चुनावसम्म आइपुग्दा पार्टी मिलिसकेको थियो । तर, चुनाव चिन्ह एउटै हुन सकेन । साझा घोषणा, साझा उम्मेदवार तर चुनाव चिन्ह आ–आफ्नै थिए । प्रचण्ड भन्नुहुन्छ, चुनाव चिन्ह एउटै गरेर गएको भए दुई तिहाई आउदो रहेछ । मलाई त्यो कुरा रिलाइज गर्न कुनै अप्ठेरो छैन । कार्यकर्ताहरुलाई यति भनिसकेपछि प्रचण्डले दुई पार्टी प्रधानमन्त्री, पद वा प्रतिष्ठाका लागि एक नभएको स्पष्ट पार्नुभयो । प्रचण्डले सांगाठानिक र भावनात्मक रुपमा रुपान्तरण हुँदै समाजवादको आधार तयार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
पार्टीका महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, ५ नम्बर प्रदेश कमिटिका अध्यक्ष ओनसरी घर्तिले एकता प्रक्रियालाई बलियो बनाउन प्रशिक्षण चलाएको बताउनुभयो । नेकपाले फाल्गुन महिनाभरीमा सात वटै प्रदेशमा प्रशिक्षण चलाउने रणनीति बनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !