सिक्टा लम्बिरहदा घाटैघाटा, साउनमा खेत बाँझै
नेपालगञ्ज – बाँकेको गौरवको सिक्टा सिंचाई आयोजनाको लागत ७ अर्ब रुपैया थियो । १८ वर्षअघिको यो लागत बढेर ५२ अर्ब ८९ करोड पुगेको छ । काम भने कछुवाको गतिमा भइरहेको छ ।
आर्थिक वर्ष २०६२÷६३ बाट काम शुरु गरिएको सिक्टा नहरमा २० अर्ब २५ करोड रुपैया खर्च भइसकेको छ । नहरमा यतिका रकम खर्चिदा अहिलेसम्म किसानको खेतमा पानी बग्न सकेको छैन । काम गराइको अवस्था हेर्दा सिक्टा नहरमा पानी होइन, पैसा बगिरहेको छ ।
तेस्रो पटक गुरुयोजना परिवर्तन गरेर २०९० मा आयोजना सक्ने लक्ष्य राखिएको छ । दुःखको कुरा त के छ भने सरकारले बजेट कटौती गर्दै गइरहेको छ भने आएको बजेट पनि आयोजनाले खर्च गर्न सकेको छैन ।
आर्थिक वर्ष २०७९÷८० का लागि एक अर्ब २६ करोड लागत अनुमान गरिएकोमा सरकारले ५३ प्रतिशत घटाएर बजेट पठायो । आयोजनाले गत आर्थिक वर्षको एक अर्ब ७० करोड १० लाख रुपैयामध्ये ५१ प्रतिशत बजेट खर्च गर्न सकेन ।
बाँकेमा अहिले ३६ हजार ५ सय हेक्टरमा धान रोपाई हुन्छ । सिक्टा नहर बन्दा ४३ हजार हेक्टरमा सिंचाई सुविधा पुग्छ । खाद्यान्नमा आत्मनिर्भर नै रहेको बाँकेमा बाह्रैमास पानी सुविधा भएमा किसानले धानबाहेकका खेतीबाट पनि राम्रो आम्दानी गर्ने आशा गरिएपनि सरकारी कामले त्यो टाढा–टाढा हुँदै गएको छ ।
सिक्टाले ६ महिनादेखि ८ क्यूमेक्स पानी छोडेर परीक्षण गरिरहेको छ । पूर्वी र पश्चिम नहरमा यत्तिका पानी छोड्दा किसानले न्यून सुविधा पाएका छन् । ५० क्यूमेक्स क्षमताको नहरमा पुरै पानी छोड्दा भत्किने डर छ । त्यसै पनि यसअघि दुई पटक नहर भत्किसकेको छ ।
नहर भन्दा उचो खेतमा पानी पु¥याउन आयोजना लागिपरेको बताइएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर तिलकराम बुढाथोकीले पश्चिमतिरको कचनापुर, ढकेरी र बालापुरको ३ सय १५ हेक्टर जमिनमा पानी पु¥याउन पाइलट प्रोजेक्टको रुपमा लिफ्ट प्रणालीबाट सिंचाई पु¥याउन नीति तथा कार्यक्रममा राखिएको बताउनुभयो ।
साउनको ७ गते हुँदा बाँकेमा ६५ प्रतिशत रोपाई भएको छ । ठूलो भूभाग अझै बाँझै छ । सिक्टाको काम लम्बिरहदा किसानको पानीको सपना पनि धमिल हुँदै गएको छ ।