५ नम्बरले जित्यो दुई लाख
नेपालगञ्ज – युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ ।
मंगलप्रसाद स्कूलको मैदानमा भएको खेलमा ५ नम्बर वडाले ८ नम्बर वडालाई ३ रनले पराजित गर्दै उपाधी जितेको हो । टस हारेर ब्याटिङ गरेको ५ नम्बर वडाले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ४९ रन बनाएको थियो ।
जसमा कप्तानमा सुबेन्दु पाण्डेले सर्वाधिक ३४ रन, हसन खानले २२ रन र रितेश शाहले २१ रन जोडे । ८ नम्बरका दिनेश केवटले २ विकेट, अफक शेष र जानु कसगरले समान १ विकेट लिएका थिए ।
जवाफमा ८ नम्बरले १ सय ४७ रन मात्र बनाउन सक्यो । टोलीका लागि अनुपम सिंहले सर्वाधिक ५१ रन बनाए । अनुपमले ३७ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । फर्दी खानले २७ रन र अफाक शेखले २४ रन जोडेका थिए । ५ नम्बरका वलर हसन खानले २ विकेट, अनिमेश शाही र मेराज अन्सारीले समान १ विकेट लिएका थिए । खेलमा ५ नम्बरका वलर हसन खान म्यान अफ द फाइनल र अनिमेश शाहीले म्याजिकल मुभमेन्टको पुरस्कार जिते । जितसँगै विजेता ५ नम्बरले २ लाख, उपविजेता ८ नम्बरले १ लाख रुपैया पुरस्कार, ट्रफी जितेको छ ।
प्रतियोगितामा ५ नम्बरका कप्तान सुबेन्दु पाण्डेले म्यान अफ द सिरिज हँुदै ५० हजार पाएका छन् । विधागत रुपमा सिद्धान्तराज शाही उत्कृष्ट ब्याटसम्यान, मेराज अन्सारी उत्कृष्ट वलर, विश्वास श्रेष्ठले राइजिङ प्लेयर, प्रताप शर्माले उत्कृष्ट फिल्डर, सर्वाधिक छक्का प्रहार गर्ने अनुपम सिहले जिते । उत्कृष्ट वलर र ब्याटसम्यानले समान २० हजार प्राप्त गरे । अन्यले समान १० हजार पुरस्कार पाए । शनिबार विजेता खेलाडीलाई नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवलशमसेर राणा, उपमेयर उमा थापा मगरलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको समापन अवसरमा आयोजक गु्रप अफ–१६ ले नेपालगञ्जका पहिलो पुस्ताका खेलाडीलाई सम्मान गरेको थियो ।