घरदैलोमा निस्किए डा. राणा

नेपालगञ्ज – राप्रपाका महामन्त्री एवं बाँके क्षेत्र नं. २ का उम्मेदवार डा. धवलशमशेर राणाले घरदैलो अभियान शुरु गरेका छन् ।

नेपालगञ्जको दुई पटक मेयर भएका डा. राणाले मेयर हुँदा गरेका कामलाई पर्चा बनाएर घर–घरमा बाँड्न शुरु गरेका हुन् ।

मंसिर ४ गते हुन थालेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपालगञ्ज बजार समेटिएको क्षेत्र नं. २ बाट उम्मेदवारी घोषणा गरेका डा. राणाले घरदैलो शुरु गर्दा उनका प्रतिस्पर्धीहरु टिकटका लागि दौडधुप गरिरहेका छन् ।

‘धेरै नै छिटो घरदैलो शुरु गर्नुभयो त ?’ त्रिभुवनचोक आसपासमा घरदैलो गर्दा भेटिएका डा. राणाले भन्नुभयो, उम्मेदवार भइहालिन्छ । किन ढिला गर्नु । भेटघाट शुरु गरे ।’

नेपालगञ्जको मुख्य बजार सदरलाइन विस्तार, नेपालमै पहिलो अत्याधुनिक ल्याण्डफिल साइड निर्माण, अत्याधुनिब बसपार्क, नगरका पाँच सय घरधुरीलाई निशुल्क शौचालय निर्माण, २० ठाउँमा सार्वजनिक शौचालय, ४ वटा घुम्ती शौचालय, महिला उद्यमीका लागि कोसेली घर निर्माण, सय किलोमिटर कालोपत्रे र दुई सय वटा पीसीसी सडक निर्माण, ४० कोठे छात्रा कलेज, मधेसी मुस्लिम बालिकालाई लक्षित गरी छात्रा स्कूल, ७ सय क्षमताको सभाहललगायत ३१ बुँदा समेटेर डा. राणा जनताको घरदैलोमा पुगेका छन् ।

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्ने मूल मन्त्रलाई अघि सारेका डा. राणा राप्रपा र एमालेका बीचमा गठबन्धन भइहालेमा पनि उम्मेदवार हुन् । सत्तासीन गठबन्धनबाट क्षेत्र नं. २ मा मन्त्री मो. इस्तियाक राई उम्मेदवार बन्ने निश्चितजस्तै छ । गठबन्धन नभएमा पनि उनी जसपाका उम्मेदवार हुन् । यो क्षेत्रबाट कांग्रेस र एमालेले पनि आफ्ना उम्मेदवार सिफारिस गरेका छन् । हिन्दुको पक्षधर भन्दै दिवाकर खनालले उम्मेदवारी घोषणा गरेका छन् । उनी पनि भेटघाटमा निस्किसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !