‘५ वर्ष, ५ संकल्प’ कांग्रेसको घोषणा पत्र सार्वजनिक

नेपालगञ्ज – नेपाली कांग्रेस बाँकेले नेपालगञ्ज उपमहानगरपालिका स्तरीय घोषणापत्र ‘५ वर्ष, ५ संकल्प’ तय गरेको छ ।

सदभावको शहर, हरित नगर, रिगंरोड सहितको सडक सञ्जाल र पूर्वाधार, सेवा र सुशासन, सामाजिक न्यायसहितको रुपाण्तरण गरि ५ शिर्षकमा लेखिएको उपमहानगरको घोषणा पत्रमा ५ वर्ष, ५ संकल्प उल्लेख गरिएको छ ।

घोषणा पत्रमा उल्लेख गरिएको हाम्रो संकल्पमा शिक्षा, स्वास्थ्य, कृषि, स्रोत तथा वित्तिय ब्यवस्थापन, उद्यमशिलता र रोजगारी, सामाजिक सुरक्षा कोषदेखि शोक सम्म, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहोरमैला ब्यवस्थापन तथा सरसफाई, विपद ब्यवस्थापन, सामाजिक न्याय र समावेशिता, भाषा,साहित्य, कला, र संस्कृति, खेलकुद, सूचना तथा सञ्चार उप शिर्षकमा बुँदागत रुपमा पाँच वर्षमा गरिने कामको प्रारुप पेश गरिएको छ ।

पत्रकारिता विषयमा एमफिल अध्ययन गर्ने नेपालगञ्जका पत्रकारलाई विषेश छात्रवृत्तिको ब्यवस्था गर्ने विषय समेत कांग्रेस नेपालगञ्ज उपमहानगरको चुनावी एजेण्डामा समावेश गरिएको छ ।

५ वर्ष ५ संकल्प नाम दिईएको घोषणा पत्रको शिक्षा शिर्षकमा विद्यालय स्तरमा कक्षा छाड्ने ड्रप आउट विद्यार्थी दरलाई सम्बोधन गर्ने उल्लेख छ । त्यसैगरी एक माध्यामिक विद्यालय एक प्राविधिक विषय कक्षा सञ्चालन गर्ने पनि उल्लेख छ ।

घोषणा पत्रमा स्वास्थ्य क्षेत्रमा सुधारका लागी थुप्रै प्रयास गरिने उल्लेख छ । साथै भेरी अस्पताललाई ५ सय बेडको बहु विषेशतायुक्त अस्पताल र शिक्षण कलेजका रुपमा बनाउने एजेण्डा समावेश गरिएको छ ।

त्यसैगरी उपमहानगरको मातहतमा १ सय ५० शैयाको नगर अस्पताल निर्माण गर्ने पनि उल्लेख छ । कृषि क्षेत्रमा कृषि विमा साना किसानलाई ९० प्रतिशत र ठूला किसानलाई ७५ प्रतिशत अनुदानको ब्यवस्था मिलाइने उल्लेख छ । घोषण पत्रमा वस्तुगत तथ्यको आधारमा करको मूल्याकंन तथा निर्धारण गर्ने पनि लेखिएको छ । कांग्रेसको उक्त घोषणा पत्रमा जेष्ठ नागरिक सतसंग खोल्नेदेखि छाडा पशु चौपाया एवं गौसंरक्षणका लागी एक वर्ष भित्र ब्यवस्थापन गर्ने कुरा उल्लेख छ ।

घोषणा पत्रमा बागेश्वरी मन्दिर एकिकृत विकास कोष स्थापना गर्ने पनि उल्लेख गरिएको छ । कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरलगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस र जसपा गठबन्धनबाट मेयरका उम्मेदवार प्रशान्त विष्ट र उपमेयरका उम्मेदवार कमरुद्दिन राईको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !