बुद्धभूमि ‘ब्राण्ड’ अब बाँके र बर्दियामा

नेपालगन्ज – ग्लोबल डेरी प्रालीले बुद्धभूमि ‘ब्राण्ड’ का दुग्धजन्य उत्पादन बाँके र बर्दियामा सुरु गर्न लागेको छ । डेरीले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै साेकाे जानकारी दिएको छ ।
ग्रामीण अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको बताउँदै कम्पनीका प्रबन्ध निर्देशक जनक न्यौपानले आफ्नो उत्पादनको बजारीकरण सुरु गर्न थालेकाे बताए ।
कम्पनीले हालसम्म नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, अर्घाखाँची र पाल्पामा गरी जम्मा ८१ वटा संकलन एवं चिस्यान केन्द्र स्थापना गरी दैनिक ४०-५० हजार लिटर दुग्ध सङ्कलन प्रशोधन विविधिकरण र बजारीकरणको कार्य गर्दै आइरहेको प्रबन्धक न्यौपानले बताए ।
करिब २० हजार कृषक परिवारबाट उत्पादित दूग्ध प्रत्यक्ष रूपमा सङ्कलन गरिरहेको र कृषकद्वारा उत्पादित दुग्धको ३ सय ६५ दिन नै खरिद गर्ने ग्यारेन्टीसहित समयमा दुग्धको भुक्तानी प्रदान गरिएको प्रबन्धक न्यौपानेको भनाइ छ ।
‘कम्पनीले विगत पाँच वर्षदेखि बाँके र बर्दिया जिल्लाका चिलरिया, मटैया, मिलनचोक, बेतहानी, खजुरा, तमौलीपुर, सितापुर, पचासा, गणेशपुर, ताराताल र राजापुरमा मुख्य चिस्यान केन्द्र स्थापना गरी दूध संकलन कार्य भइरहेको छ,’ न्यौपानेले भने, ‘अन्य ३० वटा शाखा दुध संकलन केन्द्रहरूसमेत सञ्चालन गरी दुग्ध खरिद गरिरहेका छौं ।’ कम्पनीले हालसम्म २५० जनालाई प्रत्यक्षरुपमा रोजगारी सिर्जना गरेको दाबी गरेको छ भने अप्रत्यक्ष रुपमा लाखौं मानिसहरू कम्पनीसँग जोडिएको जनाएको छ ।
पहिलोपटक २०५२ सालदेखि तानसेन पाल्पामा डेरी उद्योग सञ्चालन गरेका थानेश्वर न्यौपानेको अगुवाइमा कमल न्यौपाने र जनक न्यौपानेसमेतको मुख्य लगानीमा २०७० साल माघ १९ गते महाराजगञ्ज १ कपिलवस्तु मा दुग्ध संकलन केन्द्रको स्थापना भएको थियो भने २०७२ सालमा बुद्धभूमि नगरपालिका बडा नम्बर ९ इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना भई बुद्धभूमि ब्राण्डमा विभिन्न प्रकारका दुग्ध एवं दुग्धजन्य पदार्थहरू उत्पादन भई बिक्री वितरण कार्य प्रारम्भ भएको थियो ।











