अव्यवस्थित वसोवासीलाई लालपूर्जा वितरण
काेहलपुर – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पूर्जा (लालपूर्जा) वितरणको कामलाई तीव्रता दिएको बताएका छन् ।
भूमि समस्या समाधान आयोग, बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा बिहीवार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले भूमिहीन र अव्यवस्थित वसोवासीका लागि लालपूर्जा वितरणलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे ।
उनले भने`संघीय सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीको हातमा जग्गाको लालपूर्जा पुर्याउने अठोटका साथ काम अघि बढाएको छ । यसमा प्रदेश सरकारको साथ र सहकार्य रहेको छ । भूमिको समस्या स्थायी रूपमा समाधान गर्दै भूमिहीन नागरिकलाई जग्गाको मालिक बनाउने वर्तमान सरकारको स्पष्ट चाहना हो । सोही अनुसार कामहरू अघि बढेका छन् ।´
मुख्यमन्त्री आचार्यले बर्षौंसम्म भूमि अधिकारबाट वञ्चित भएका नागरिकहरूलाई अधिकार दिलाउन सरकार निरन्तर क्रियाशील रहेको बताए । उनले अव्यवस्थित वसोवासीहरूले उठाएका समस्याहरू समाधान गर्न प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पहल गरिरहेको जानकारी दिए ।
`भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर र संवेदनशील भएको छ,´उनको भनाइ थियो ।
सो अवसरमा कोहलपुर नगरपालिका वडा नं. १ का एक सय २२ जना अव्यवस्थित वसोवासीलाई मुख्यमन्त्री आचार्यले जग्गाधनी प्रमाण–पूर्जा वितरण गरे ।
भूमि समस्या समाधान आयोग, बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षतामा भएकाे कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।