विदेश पठाइदिने भन्दै एकै व्यक्तिबाट ठगिए दश युवा
नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ का दश जना युवा एकै व्यक्तिबाट ठगिएका छन् । विदेश जानका लागि तीन÷तीन लाख रुपैया बुझाएका युवा ठगिएको थाहा पाएपछि प्रहरीको शरणमा पुगेका छन् ।
डुडुवा गाउँपालिका वडा नं. ६, सिख्खनपुरुवाका हरपालसिंह सिखले विदेश पठाइदिन्छु भन्दै युवालाई ठगेका हुन् । सिखबाट ठगिएका मोनु खाँ, आरिफ खाँ, मो. हानिफ खाँ, सकिर अलि बेहना, अस्लम शेष, सउवाल अहमद शेष, रजाक शेष, मनोजकुमार कोरी, सम्सुल शेष र फिरोज शेष प्रहरीमा उजुरी दिन पुगेका छन् ।
कुवेत पठाइदिन्छु भन्दै सिखले झुक्याएका थिए । दशै जना युवालाई उडान पक्का भइसकेको भन्दै काठमाडौंसमेत लगिएको थियो । पाँच दिन काठमाडौंमा बसाएर घर फिर्ता पठाइएको थियो । कुवेत जानका लागि घरबाट टीकाटालो गरेर निस्सिएका युवा पाँच दिन काठमाडौं बसेर फिर्ता आएका थिए ।
पीडित मनोजकुमार कोरीले भने, ‘विदेश जाने भनेर टीकाटालो गरेर गएको मान्छे फेरि घर फर्किदा मलाई साह्रै नराम्रो लाग्यो । घर फर्किन मन लागेको थिएन । तर, कहाँ जानु ? मन रुवाउँदै फर्किए ।’ विदेश जान भन्दै मनोज घरबाट निस्किदा उनका घरपरिवारका सदस्यहरु रोएका थिए । विदेश जान नपाएर घर फर्किदा मनोज रोए ।
मनोजले २ लाख ६५ हजार रुपैया सिखलाई बुझाएका थिए । ३५ हजार उड्ने वित्तिकै घरपरिवारले दिने भनिएको थियो । दुई लाख रुपैया ब्याजमा लिएर सिंखलाई बुझाएको मनोजले बताए । एक लाखको डेढ लाख दिने गरी ६ महिनाको भाका राखेर ब्याजमा दुई लाख लिएका थिए ।
आरिफ खाँ किचन हेल्फरमा कुवेत जान तयार थिए । उनले तीन लाख रुपैया बुझाएका थिए । आरिफले दुई लाख ५० हजार ब्याजमा र ५० हजार रुपैया भिनाजुसँग मागेर दलाललाई बुझाएका थिए । भाई अब्दुल अर्सद खाँलाई विदेश पठाउन मोनु खाँले ५ प्रतिशत ब्याजमा लिएर दलाललाई तीन लाख रुपैया बुझाएका थिए ।
दश जनामध्ये दुई जनालाई ‘लाइट ड्राइभर’ र आठ जनालाई किचन हेल्फरमा काम लगाइदिने प्रलोभन देखाइएको थियो ।
‘विदेश पठाउ कि भने हाम्रो पैसा फिर्ता गर’ भन्दा सिखले विदेश पठाउन नसक्ने र पैसा पनि अहिले फिर्ता गर्न नसक्ने ओठे जवाफ दिने गरेको मोनु खाँले बताए । ‘हाम्रो पैसा अलिअलि गर्दै दिए पनि हुन्थ्यो । हरपालसिंह सिखले हामीलाई विदेश पठाउन सक्दिन । पैसा पनि अहिले दिन सक्दिन । जे गर्न सक्छौ गर भन्छन्, मोनुले थपे, विदेश जान नपाउने र पैसा पनि फिर्ता नपाउनेजस्तो देखिएपछि प्रहरीको शरणमा आएका छौं ।’
सिखले आफ्नैमा पर्ने सिख्खनपुरुवा र मसाहका तीन-तीन जनालाई पनि विदेश पठाइदिन्छु भन्दै ठगेको उनीहरुले बताएका छन् ।