कोहलपुरमा आगो ताप्ने व्यवस्था
कोहलपुर – शीतलहर र अत्यधिक चिसो बढेपछि कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
विगत केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि बुधबारदेखि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । कोहलपुरको मुख्य चौराह, साझा चोक, हाइस्कुल, पिपरी, हवल्दारपुर, मदनचोक, कौशिलानगर, चप्परगौडी लगायतका मानिस बढी जमघट हुने मुख्य राजमार्ग क्षेत्रका चोकहरुमा दाउरा वितरण सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले बताए ।
उनका अनुसार जिल्ला वन पैदावर आपूर्ति समितिबाट ६ चट्ठा दाउरा खरिद गरी इलाका प्रहरी कार्यालय कोहलपुरसँगको सहकार्यमा वितरण सुरु गरिएको छ । ‘कोहलपुर नगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउनका लागि आगो ताप्ने व्यवस्था मिलाउँदै आएको छ थापाले भने, ‘यो वर्ष पनि दाउरा खरिद गरेर चोक–चोकमा नगर प्रहरी आफै खटिएर आगो ताप्ने व्यवस्था मिलाइएको छ ।’ चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरु बढी कष्ट सहनु परेको छ । चिसोले जिल्लाको जनजीवन दिनदिनै कष्टकर बन्दै गएको छ । मंगलबारदेखि बाँकेमा शीतलहर सुरु भएको छ ।