रिफरल अस्पतालमा छैन, सिटीस्क्यान
नेपालगन्ज – भेरी अस्पताल, नेपालगन्जमा सिटीस्क्यान नहुँदा विरामी मर्कामा परेका छन् । यस क्षेत्रका दूरदराजबाट उपचार गर्न आउने भेरीमा सिटीस्क्यान नहुँदा विरामी बाहिर जानु पर्ने बाध्यता भएको छ ।
भेरीमा सिटीस्क्यान मेसिन बिग्रिएको ५ महिना भइसकेको छ ।सिटीस्क्यान नहुँदा दैनिक कम्ती २० जनाले बाहिरबाट सेवा लिनु परिरहेको छ । अस्पतालको आपतकालीन कक्षमा उपचार गर्न आउने विरामी धेरै समस्यामा पर्ने गरेका छन् ।
अस्पताल प्रशासनले सिटीस्क्यान मेसिन बनाउनका लागि बारम्बार ताकेता गरेपनि कुनै सुनुवाई भएको छैन । सिटीस्क्यान मेसिनको ट्यूब बिग्रिएको छ । जसलाई बनाउन एक करोड रुपैया लाग्ने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले बताए । सिटीस्क्यान मेसिन बनाउनका लागि स्वास्थ्य मन्त्रालय हुँदै अर्थमन्त्रालयमा फाइल पुगेपनि काम अगाडि बढ्न सकेको छैन ।
अहिले बिग्रिएको सिटीस्क्यान मेसिन बनाउनु भन्दा नयाँ किन्नतर्फ जोड दिने सोचमा मेसु सुवेदी छन् । सय बेडमाथिको अस्पतालमा अनिवार्य रुपमा १२८ सलाइसको सिटीस्क्यान मेसिन राख्नु पर्ने भनिएको छ । अहिले भेरीमा रहेको र बिग्रिएको १६ सलाइसको सिटीस्क्यान हो । यो मेसिनले टाउकोको मात्र स्क्यान गर्छ । पुरानो मेसिन बनाउन एक करोड नदिने सरकारले नयाँ मेसिन किन्न ७ देखि १० करोड कसरी देला ? अर्को चिन्ताको विषय बनेको छ । भेरीमा रहेको सिटीस्क्यान मेसिन १३ वर्ष पुरानो हो । पुरानो मेसिन अनि एक करोड खर्च गरेर बनाउन तत्काल बिग्रिएमा नराम्रो सन्देश जानेतर्फ मेसु डा. सुवेदी सचेत देखिन्छन् । तर, नभई पनि भएको छैन ।
केही महिनाअघि नेपालगन्जको बाइसपास रोडमा मोटरसाइकल दुर्घटनामा परेर दुई जना घाइते भए । एक जनालाई भेरीमा ल्याइयो, अर्कोलाई मेडिकल कलेजमा लगियो । मेडिकल कलेजमा लगेका व्यक्तिको मृत्यु भयो । भेरीमा आएका व्यक्तिलाई सिटीस्क्यान मेसिन बिग्रिएकाले बाहिर पठाइयो । उनी सिटीस्क्यान गर्न मेडिकल कलेजमा पुगे । त्यहाँ उनले आफैसँग ठोक्किएर दुर्घटनामा परेका व्यक्तिको मृत्यु भएको थाहा पाए । त्यसपछि ती युवा सिटीस्क्यान नै नगरेर भारततिर भागे । भेरीमा आइसकेको व्यक्ति कसरी भागे ? भनेर आन्दोलन चर्कियो । अस्पताल अगाडिको सडकमा दिनभरी टायर बालेर नाराबाजी भयो । अस्पतालले भगाएको आरोप लगाइयो । खासमा सिटीस्क्यान मेसिन चलेको भए उनी भाग्ने अवस्था आउँदैनथ्यो ।
अस्पतालका मेसु डा. सुवेदीले आफूले नेपालगन्जमा आइपुग्ने मन्त्री र सांसदलाई सिटीस्क्यान मेसिनको समस्या बताउने गरेको बताए । ‘नेपालगन्जमा जुन मन्त्री आएपनि मैले अस्पतालको समस्या बताउने क्रममा सिटीस्क्यानलाई प्राथमिकताका साथ उठान गर्छु, मेसु डा. सुवेदीले भने, हालै आएको एउटा टोलीले त निराजनले अब सिटीस्क्यानको कुरा गर्छ भनेर पहिला बोल्न दिएनन् ।’
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालमा दूरदराजबाट आउने विरामी सिटीस्क्यान गराउन अन्यत्र जानु पर्ने समस्या रहेको छ । अस्पतालको आफै सिटीस्क्यान मेसिन बनाउन सक्ने स्थिति छैन । अघिल्लो आर्थिक वर्षकै २२ करोड तिर्न बाँकी रहेको छ । बिमाको चैत्रदेखिको करिव १० करोड रुपैया भुक्तान भएको छैन । भेरीमा २ सय ४८ बेड सञ्चालनमा रहेको छ । सरकारले अहिले पनि सय बेडको अस्पतालको रुपमा सुविधा दिने गरेको सम्बद्धहरु बताउँछन् ।