मानव बेचबिखन रोकथामका लागि अन्तरदेशीय संयन्त्र
नेपालगन्ज – नेपाल र भारतका सरकारी तथा गैरसरकारी संघ संस्थाका अधिकारीले मानव बेचबिखन रोकथामका लागि अन्तरदेशीय संयन्त्र बनाएका छन् ।
माइती नेपाल र हाम्रो सम्मान परियोजनाले नेपालगन्जमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसाविरुद्धको अन्तरदेशीय कार्यशालामा सहभागी नेपाल र भारतका सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिले मानव बेचबिखन रोकथामलाई प्रभावकारी बनाउन संयन्त्र बनाएका हुन् । संयन्त्रले मानव बेचबिखन रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, आपसी सम्बन्ध बढाउने, उचित परामर्श गर्ने, एक अर्कामा सूचना आदानप्रदान गर्ने, बेचबिखनमा परेकाको उद्धार तथा पुनर्मिलनका कार्यहरु गर्ने बताइएको छ ।
माइती नेपालको संयोजनमा नेपालको शक्ति समूह, साथी संस्था, भारतको देहात र मानव सेवा संस्था संयन्त्रमा रहेका छन् । अरु संघ संस्थालाई संयन्त्रमा जोड्दै लैजाने माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।
अन्तरदेशीय कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले मानव बेचबिखन तथा ओसारपसार संगठित अपराध भएकाले यसलाई रोक्न चुनौतीपूर्ण रहेको भन्दै सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले तीन तहका सरकार, गैरसरकारी संघ संस्था मिलेर अघि बढ्दा मानव बेचबिखन रोकथाममा ठूलो टेवा पुग्ने बताउनुभयो । मन्त्री तिमिल्सेनाले सीमावर्ती जिल्लामा काम गर्ने सरकारी निकाय तथा संघ संस्थाका प्रतिनिधिले मिलेर काम गर्दा मानव बेचबिखन रोकथाम र उद्धारमा सहज हुने बताउनुभयो । उहाँले यसप्रकारका कार्यक्रमहरु गर्दा केन्द्रमा बसेर त्यहाँबाट निकालिएको तथ्यांकको आधारमा नभई जिल्लाको बस्तुस्थिति बुझेर रणनीतिहरु बनाएर अघि बढ्नु पर्ने दोहो¥याउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गर्दा विगतको महिला विकास कार्यालयजस्तै डेस्क बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले छरिएर काम गर्दा प्रभावकारी नभएको भन्दै कामलाई प्रभावकारी बनाउन एउटा डेस्क बनाउनु पर्ने बताउनुभयो । प्रजिअ रिजालले मानव बेचबिखन रोकथामका लागि नेपाल र भारतका सरकारी अधिकारीको बीचमा हुने बैठकमा समेत कुरा उठाउने गरेको बताउदै संघ संस्थाका बीचमा भइरहने कार्यक्रमले थप सघाउ पु¥याउने बताउनुभयो ।
माइती नेपालका निर्देशक विश्व खड्काले अहिले बैदेशिक रोजगारीका नाममा मानव तस्करी भइरहेको बताउनुभयो । ‘पहिला आफन्तीले विवाह गरेर लगेर बेच्थे । अहिले सामाजिक सन्जालबाट चिनजान गरेर दलालले विवाह, रोजगारीका नाममा लगेर बेच्ने गरेका छन्, निर्देशक खड्काले भन्नुभयो, पछिल्लो दुई वर्षमा ४० हजार तीन सय बेचबिखनमा परेका छन् । २६ हजार ५ सयलाई नाकाबाट उद्धार गरिएको छ ।’
माइती नेपालले प्रहरीसँग मिलेर काठमाडौंको केही ठाउँको डान्सबार, मसाज सेन्टरमा अनुगमन गर्दा २ सय ६८ जना जोखिमपूर्ण काममा लगाएको पाइएको, त्यसमध्येमा ३२ प्रतिशत १८ वर्ष मुनिका र ५१ प्रतिशत लागु औषध प्रयोगकर्ता रहेको खड्काले जानकारी दिनुभयो ।
मानव सेवा संस्थान, गोरखपुर भारतका मो. समुनले संघ संस्थाका बीचमा समन्वय भएपनि भारतमा सुरक्षा अधिकारीसँगको समन्वय प्रभावकारी नरहेको बताउनुभयो ।
दिल्ली पुलिसका इन्सपेक्टर केहर सिंह र जयबीर सिंहले मानव बेचबिखनविरुद्ध सबैले आ–आफ्नो ठाउँबाट इमान्दारीपूर्वक काम गर्न जरुरी रहेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत आशा शाहीको स्वागतबाट शुरु भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, नरैनापुर गाउँपालिकाका प्रमुख मो. इस्तियाक अहमद शाह, राप्तीसोनारी गाउँपालिकाका प्रमुख तप्त पौडेल, हाम्रो सम्मान परियोजनाका सीता घिमिरे, बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।