मेडिकल कलेजमा निरन्तर आन्दोलन
नेपालगन्ज – लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका कर्मचारीले विभिन्न माग राखेर निरन्तर आन्दोलन गरिरहेका छन् ।
विभिन्न ७ बुंदे माग राखेर आन्दोलन उत्रिएका कर्मचारीका कारण मेडिकल कलेजको सेवा प्रभावित भएको छ । १५ दिनदेखि चलेको आन्दोलनले मेडिकल कलेजको आपतकालिन सेवाबाहेक सबै सेवा बन्द भएका छन् ।
६ महिनाअघि ज्ञापनपत्रमार्फत आफ्ना माग प्रस्तुत गरेका कर्मचारीहरु मागको कुनै पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन किमिटिका संयोजक सुमन गिरी श्रेष्ठले बताइन् । २०८१ असार ४ गते लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघका सभापति यमबहादुर खड्का, नेपाल स्वास्थ्य तथा कर्मचारी युनियनका अध्यक्ष अनिता थापा र लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संगठनका सभापति एवं वार्ता कमिटिका संयोजक रत्ना गिरीले हस्ताक्षर गरेर ७ बुंदे माग प्रस्तुत गरेका थिए । उनीहरुको मागमा तलव तथा भत्ता महंगी अनुरुप परिमार्जन गर्नुपर्ने, दरबन्दी सिर्जना, पदपूर्ति, पदोन्नति, स्थायी र नियुक्ति, अवकाश, उपदान, सामाजिक सुरक्षा कोष, शेयर र कर्मचारी कल्याणकारी कोष, स्वास्थ्य उपचार खर्च एवं सुविधा, हाजिरी र विदा, अध्ययन एवं तालिम, संस्थागत सुधार तथा विविध विषयमा आफ्ना माग अघि सारेका छन् ।
कर्मचारीले निरन्तर आन्दोलन गरिरहदा पनि अस्पताल प्रशासनले कुनै सुनुवाई गरेको छैन । अनौपचारिक कुराकानीमा संस्था घाटामा रहेकाले सुविधा बढाउन नसकिने बताउने गरेका छन् । आन्दोलनरत कर्मचारीले आफ्ना मागको सुनुवाई नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिइरहेका छन् ।
आन्दोलनकारी दुई दिनअघि नेपालगन्जमा आएका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । उक्त भेटमा स्वास्थ्य मन्त्री पौडेलले आफ्ना राख्दा संस्था नै बन्द नगर्न सुझाव दिदै आफूले पनि मागका विषयमा पहल गर्ने आश्वासन दिएका थिए ।
आन्दोलन कमिटिका संयोजक श्रेष्ठले महंगी अनुसारको सेवा सुविधाको माग राखेर आन्दोलन थालेको बताइन् । उनले आन्दोलन भएको यत्तिका दिन हुंदा पनि अस्पताल प्रशासनले कुनै सुनुवाई नगरेको बताइन् । संस्थाले २७ वर्षदेखि घाटामा रहेको बताउंदै कर्मचारीको मागलाई बेवास्ता गर्दै आएको छ । नेपालगन्ज, कोहलपुर र चिसापानीमा गरेर लर्ड बुद्ध एजुकेशनलमा एक हजार पांच सय कर्मचारी रहेका छन् ।