बलियो पार्टी संगठन निर्माणमा जुट्न निर्देशन
बैजनाथ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य चेतनारायण आचार्यले आगामी ८४ को निर्वाचनमा पार्टीलाई तीन तहमा विजय बनाउन अहिलेदेखिनै बलियो संगठन निर्माणमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिनुभएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका कमिटिले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले पार्टीलाई बलियो बनाउने अभियानमा जुट्न निर्देशन दिनुभयो । ‘यहाँ जति योजनाहरु प्रस्तुत गर्नु भयो । ति योजना पालिका र वडा तहबाट सम्वोधन गर्ने खालका छन् । पार्टीलाई बलियो बनाएर स्थानीय तहको निर्वाचनबाट विजय बनाउनेगरी यहाँहरु अघि बढ्न जरुरी छ’उहाँले भन्नुभयो,‘संगठन निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढ्नुस ।’
यस्तै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले बाँके र बर्दिया जिल्लाको समग्र विकासको लागि उच्च प्राथमिकतामा राखेको जानकारी गराउनु भएको छ । चालु आर्थिक बर्षमा बाँकेमा २ अर्ब ४० करोड र बर्दियालाई एक अर्ब ८७ करोड बजेट विनियोजन गरिएको समेत जानकारी गराउदै प्रदेश सरकारले यी जिल्लालाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउनु भएको हो ।
यस्तै प्रदेश सरकारले व्यवस्थीत र गुणस्तरीय सडक निर्माणकालागि प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माण गरेर व्यवस्थित र दिगो पूर्वाधार निर्माण गरिने स्पष्ट पार्नु भयो । एउटा प्रदेश निर्वाचन क्षेत्रमा पाँच वटा प्रदेश स्तरका सडक नबढ्नेगरी सडक सञ्जाल गुरुयोजनामा समेटिने भनाई उहाँको छ ।‘प्रदेशका सडक कुन हुन् ? पहिचान गर्न गाह्रो थियो । अव सडक सञ्जाल गुरुयोजना बनाएर सडक योजना छनोट र निर्माणलाई व्यवस्थित गर्न प्रदेश सरकार अघि बढेको छ’उहाँले भन्नुभयो,‘अहिले साढे २२ सय सडकबाट हामीले साढे तीन सय देखि चार सयको विचमा झार्दैछौं । अनि प्रदेशको बजेटले ती सडक निर्माणको काम अघि बढ्छ ।’
प्रदेश सरकारले अघि बढाएका योजनाको कार्यान्वयन र गुणस्तरीयतामा ध्यान दिन, अनुगमन तथा निगरानी बढाउन आह्वान गर्नु भएको छ ।‘प्रदेश सरकारले अघि बढाएका सबै आयोजना गुणस्तरीय हुन जरुरी छ । बजेट परेका ठाउँमा कार्यान्वयनमा सहजीकरणको भूमिका पार्टीपंक्तिबाट हुन आवश्यक छ’उहाँले भन्नुभयो,‘प्रदेश गरेका कामहरुलाई अपनत्व लिएर जनता माझ पु¥याउन जरुरी छ ।