दशैं मनाउन घर फर्किन थाले नेपाली


नेपालगन्ज – भारतको विभिन्न शहरमा कामका लागि गएका नेपाली दशैं मनाउन घर फर्किन थालेका छन् । दशैं मनाउन घर फर्किनेको नेपालगन्ज नाकामा भीडभाड बढेको छ ।
कर्णाली प्रदेशको दैलेख, जाजरकोट, रोल्पा, रुकुम, सुर्खेत, सल्यान, लुम्बिनीका बाँके, बर्दिया, दाङ, सुदूरपश्चिमका कैलाली जिल्लाबाट भारतको दिल्ली, गुजरात, सिमला, कालापहाड, प्रयागलगायत ठाउँमा गएका नेपाली दशैं मनाउन घर फर्किएका हुन् ।
नेपालगन्ज नाकाबाट यतिबेला दैनिक तीन हजारको संख्या नेपाली घर फर्किरहेका छन् । दशैं मनाउन सामान बोकेर फर्किने नेपालीको नाकामा भीड बढेको छ । कैलालीका जीवन परियारले नेपालमा रोजगारी नभएपछि भारतमा गएर काम गर्नुपर्ने बाध्यता भएको र दशैं नजिकिएसँगै घर फर्किएको बताउनुभयो । सिमलामा काम गरेर फर्किएका जाजरकोटका बुद्धि विक ६ महिनापछि घर फर्किएका छन् । विकले घरपरिवारसँग दशैं मनाउन घर फर्किएको बताउनुभयो ।
घर फर्किएका नेपालीले भारतीय सीमामा सास्ती खेप्ने गरेका छन् । सामान लिएर आउदा जाँचका नाममा यता र उता फालिदिने गरेको कैलालीका परियारले बताउनुभयो । ‘भारतमा गएर मजदुरी गरेर कमाएको पैसाले घरपरिवारका सदस्यलाई कपडा र खानेकुरा ल्याएका हुन्छौं, जाँचका नाममा यता र उता गरिदिन्छन्, नेपालीले भन्नुभयो ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसको रोजाई कालापहाड हुने गर्दछ । हरिद्वारमा तीर्थालुलाई बोकेर मन्दिरसम्म पु¥याउने काममा नेपाली धेरै खटिन्छन् । सिमलामा स्याउ बगैचामा काम गर्नेको अर्को लर्को हुने गर्दछ । त्यसरी मजदुरी गरेर ल्याएको पैसाले नेपालका परिवारको मुहारमा खुशी भर्छन् । कमाउन गएको घरको मूली मानिस कहिले फर्केला र दशैं राम्ररी मनाउला भनेर पर्खीबस्ने गरिन्छ । परिवारको त्यो अत्यासलाई मेट्न कालापहाडेहरु फर्किने क्रममा शुरु भइसकेको छ । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले दशैं मनाउन घर फर्किने नेपालीको संख्या बढ्दै गएको बताउनुभयो । उहाँले दिनमा तीन हजारको आसपासमा नेपाली फर्किरहेको जानकारी दिनुभयो ।


चाडबाडमा हुने भीडको फाइदा उठाउदै नाकामा लुटपाट, चोरी र ठगीका घटना हुने गर्दछन् । नेपालगन्जका होटल व्यवसायी कालापहाडेलाई आफ्नो होटलमा ल्याउन सीमामा पुगेका हुन्छन् । अटोरिक्साले भाडा बढी लिने समस्या सधैंजसो हुन्छ । भारतबाट बस या रेलमा आउदा नसालु पदार्थ मिसाएर लुटपाट हुने जोखिम सधैं हुन्छ । एक महिनाअघि मात्रै दाङका एकजना लुटिएर नेपाल आइपुगेका थिए । विस्कुट वा पिय पदार्थमा नसालु पदार्थ मिसाएर खुवाउने र बेहोस भएपछि पैसा लुट्ने गरिन्छ । सिमलाबाट आएका दाङका एकजना बेहोस अवस्थामा सीमा वारी नेपालतर्फ आइपुगेका थिए । भारतीय भूमिमा लुटिएका उनलाई भारतीय प्रहरीले रिक्सामा चढाएर नेपालतर्फ पठाइदिएका थिए । नेपाल आउदासम्म उनी बेहोस् थिए । उनलाई नेपाल प्रहरीले अस्पताल पु¥याइदिएको थियो । उनले आफूसँग ५० हजार रुपैया रहेको र त्यो लुटिएको प्रहरीलाई बताएका थिए ।
कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका मानिस मौसमी कामका लागि भारतमा जाने गर्दछन् । चाडबाड र खेती लगाउने बेलामा आउने उनीहरु अरुबेला उतै काममा हुन्छन् । नेपालीहरु सकेसम्म दशैंमा घर फर्किन्छन् । वर्षभरी मजदुरी गरेपनि चाडबाड राम्ररी मनाउने नेपालीको बानी नै रहेको हुन्छ । कालापहाड पुगेकाहरु पनि यतिबेला दशैंमा खुशी बनाउन झोलाझाम्टा बोकेर घर फर्किरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !