गोपाल-नीना फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य सेवा र आश्रितहरुलाई खाना


नेपालगन्ज – गोपाल–नीना फाउण्डेशनद्वारा स्थानीय निलसागर सेवा आश्रममा आश्रित बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार आयोजित विशेष स्वास्थ्य शिविरबाट स्वास्थ्य समस्या भएका ६८ जना आश्रित बालबालिका लाभान्वित भएका हुन् ।
गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिएकाे जानकारी अनुसार आश्रममा आश्रित अभिभावकबिहीन, आफन्त समेत गुमाएका सहाराबिहीन अधिकाँश बालबालिकामा खटिरा, शरीर चिलाउने, छाला, दाँत र मुख आदिको समस्या देखिएको थियो । डा. तृप्ती पाल रमणले भनिन्, यस्तो समस्या देखिएका उनीहरुलाई निःशुल्क औषधी पनि वितरण गरिएको छ भने स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको छ ।
फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठका अनुसार गोपाल–नीना फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरणका साथै उक्त आश्रममा आश्रित २ सय २० जनालाई विहानको खाना पनि खुवाइएको थियो भने सबै बालबालिकाहरुलाई स्टेसनरीको किट र हाइजिन किट पनि वितरण गरिएको थियो । खाना खुवाउने कार्यक्रममा प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठ, फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र आयोजक टिमका अन्य अतिथिले खाना खुवाएका थिए ।
आश्रमका इञ्चार्ज एलिसा चौधरी र सामना निल सागरका अनुसार आश्रमका सबै बालवालिकालाई स्टेसनरी वितरण गरिएको थियो ।
विशेष स्वास्थ्य शिविरमा डा. सचिन शाह, डा. कमल जंग शाही, बाँके डेन्टल क्लिनिकका डा. शालिनी मिश्र पाठक, डा. दिल बहादुर सन्त्याल र डा. तृप्ती पाल रमणले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए ।
सो कार्यक्रम सफल पार्न फाउण्डेसनको विपुल वर्मा, दिलिप गिरी, कल्पना चौधरी, भावना पौडेलले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
सो कार्यक्रम प्रारम्भ हुनु पूर्व आयोजित कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठ, फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ, वरिष्ठ पत्रकार पूर्णलाल चुके, अधिवक्ता तथा फाउण्डेसनका सदस्य लोकबहादुर शाह, बाँके डेन्टल क्लिनिकका सञ्चालक सुरेन्द्र सिंह सरदार लगायतले बाेलेका थिए ।
पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपाल प्रसाद श्रेष्ठ र प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उनका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा एक वर्ष अघि स्थापित उक्त फाउण्डेसनले विभिन्न सामाजिक गतिविधि तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सकद्वय श्रेष्ठ २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत छन् ।


error: यो सुविधा उपलब्ध छैन !