बैकुण्ठघाम निर्माणका लागि अध्यात्मिक महोत्सव


नेपालगन्ज – वाचन शिरोमणि दिनबन्धु पोखरेलको उपस्थितिमा नेपालगन्जमा बैकुण्ठघाम अध्यात्मिक महोत्सव हुने भएको छ ।
राप्ती नदी तट सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि कात्तिक २२ देखि ३० गतेसम्म अध्यात्मिक महोत्सव हुने भएको हो ।
मोर्निङवाकमा भेटिने नेपालगन्जका डाक्टर, पत्रकार, मानवअधिकारकर्मी, कानून व्यवसायी, उद्योगीको समूहले बनाएको मल्हमपट्टी गु्रपको अगुवाईमा बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समिति निर्माण गरेर अध्यात्मिक महोत्सव आयोजना गर्न थालिएको हो ।
बैकुण्ठघाम निर्माणका लागि समितिले सिधनियाघाटमा १२ कठ्ठा जमिन खरिदका लागि बैना दिइसकेको छ । प्रतिकठ्ठा आठ लाखको दरले चार जना जग्गाधनीलाई बैना दिइएको छ । थप १९ कठ्ठा खरिद गर्ने समितिको योजना रहेको छ ।
बैकुण्ठघाममा ब्रम्हनाल, धारा, प्रतिक्षालय, काठ गोदाम, पूजा सामाग्री पसल, शौचालय, किरियापुत्री घर, मन्दिर, पार्क बनाउने योजना रहेको छ । भविष्यमा विद्युतीय शवदाह गृहको योजना अघि सारिएको छ ।
पण्डित पोखरेलले व्यवस्थित तरिकाले महायज्ञ गर्न सकेमा २० करोड रुपैया संकलन हुने उद्घोष गर्नुभयो । महायज्ञमा प्रवचनसँगै शालिकरामको दर्शन, ब्रतबन्ध, विवाह, चौरासीपूजा, रुद्री, ग्रहशान्ति गरिने छ ।
समितिका अध्यक्ष डा. सुरेशकुमार कनोडिया, उपाध्यक्ष भोला महत, सचिव विकास आचार्य, सहसचिव उमा थापा, कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सदस्यहरु डा. बद्री चापागाई, डा. किर्तिपाल सुवेदी, श्रीराम सिग्देलले सबैले अपनत्व लिने गरी काम गरिरहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !