जिल्ला लिगमा धम्बाेझी र रेसिङ बराबरी

कोहलपुर – बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
कोहलपुरस्थित १३ विगाह फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल बराबरीमा सकिएको छ । साविक विजेता नेपालगन्जको धम्बोझी क्लब र कोहलपुर रेसिङ साहरा क्लबबिचको खेल १–१ को बराबरीमा सकिएको हो ।
खेलको २५औं मिनेटमा धम्बोझीका क्षितिज थापा मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर कोहलपुर रेसिङका ईश्वर श्रेष्ठले ५१औं मिनेटमा गोल गदैं खेल बराबरी गरे ।
खेलमा कोहलपुर रेसिङ साहराका गोलकिपर सलोन परियारले प्लेयर अफ द म्याचको ट्रफी प्राप्त गरे । उनलाई अखिल नेपाल फुटबल संघका पुर्व उपाध्यक्ष गोर्वद्धन सिंह सम्झना र कोहलपुर गोल्ड कपका संयोजक राम बहादुर मल्लले पुरस्कृत गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा कोहलपुरमा सुरु भएको प्रतियोगितामा जिल्लाका ९ क्लबको सहभागिता रहेको छ । शनिबार एक समारोहका बिच कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले प्रतियोगिताका रेफ्री लक्ष्मण घर्तीलाई बल हस्तान्त्रण गर्दै उद्घाटन गरेका थिए । बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा फुटबल संघका पूर्व उपाध्यक्ष गोर्वद्धन सिंह सम्झना, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल लगायतको उपस्थिति रहेको थियो ।
असारको १३ गतेसम्म चल्ने प्रतियोगिता लिगकम नकआउटको आधारमा भइरहेको छ । प्रतियोगितामा सहभागि क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा कोहलपुर रेसिङ साहरा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।
समूह ‘बी’मा न्यू डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओशाेनिक क्लब रहेका छन् । समूह ‘ए’ र समूह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।
शनिबार प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले खेलकुद र खेलाडीको विकासका लागि नगरपालिकाले सकारात्मक भएर सहयोग गर्ने बताए ।
उनले भने,‘खेलाडीलाई खेलप्रति आर्कषित गर्न, उनीहरुको प्रतिभा देखाउने वातावरण निर्माण गर्नका लागि खेलकुदको बजेट हामीले बढाउँदै लगेको छौं । स्थानीय स्तरका खेलाडीले आफनो क्षमता देखाउने अवसर पाउनु पर्छ । उनीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाउने वातावरणको निर्माण गर्ने हाम्रो उद्देश्य हो । त्यो आज पनि छ र भविष्यमा पनि रहनेछ ।’
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले फुटबलको विकासमा लिग फुटबलको महत्वपूर्ण भूमिका हुने बताए ।
प्रतियोगिता अन्तर्गत आइतबार बिहान हुने पहिलो खेलमा जय किसान स्पोर्टस क्लब खजुरा र न्यू डाँफे स्पोट्स क्लबबिच हुनेछ । दोस्रो खेल ओशोनिक क्लब र रोयल नेपालगन्ज फुटबल क्लबबिच हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !