सहकारीलाई व्यवस्थित गर्दै उपमहानगरपालिका


नेपालगन्ज – बैशाख ३० गते नेपालगन्ज उपमहानगरपालिकाले सहकारीको अनुगमन ग¥यो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १०, आदर्शनगरस्थित इन्द्रावती बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गरेर केही कामहरु व्यवस्थित गर्न सुझाव दिइयो ।
अनुगमन टोलीले उक्त सहकारीमा केही कैफियत फेला पारेको थियो । सहकारी सञ्चालकलाई सचेत गराउदै डकुमेन्टेशन व्यवस्थापन, कार्यविधि तथा ऐन नियम निर्माण, खर्च कटौतीलगायत विषयमा सुझाव दिएर टोली फर्कियो ।
नेपालगन्ज उपमहानगरपालिकाका सहकारी शाखाका प्रमुख प्रवीणकुमार रानाले दिएको उक्त सुझावलाई शिरोधार्य गर्दै कैफियत सच्याउने इन्द्रवतीका प्रवन्धक टीबी थापा (प्रकाश) ले प्रतिबद्धता गर्नुभयो ।
उपमहानगरपालिकाको सहकारी शाखाले नियमित सहकारीको अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा देखिएका कैफियतलाई सच्याउन लगाइन्छ । अनुगमन टोलीले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको छ । अर्को पटक जादा पनि पहिला देखिएका कैफियत सच्याएको नपाइएमा सहकारी ऐन बमोजिम कारबाही गरिने चेतावनी दिने गरिएको छ ।
सहकारी शाखाले अनुगमनसँगै सहकारी सञ्चालकलाई तालिम र प्रशिक्षण दिने गरेको छ । सहकारीमा वित्तीय सुशासन कायम गराउन नेपालगन्ज उपमहानगरपालिकाले सहकारीका लेखापाललाई तालिम दिएको छ । सात दिने तालिममा ४० वटा सहकारीका ४० जना सहभागी भएका थिए । लेखापाललाई तालिम दिंदा सहकारीको लेखाको पाटो व्यवस्थित हुन्छ नै । सहकारी शाखाले सहकारी नेतृत्व तथा व्यवस्थापन विकास कार्याशालामात्रै होइन, ४० वटा विद्यालयका विद्यार्थीलाई सहकारी सम्बन्धी जानकारी गराएको छ ।
नेपालगन्जमा एक सय १२ वटा सहकारी छन् । सहकारीमा नेपालगन्ज उपमहानगरपालिकाले तीन वटा काम गरिरहेको छ, नियमन, प्रवद्र्धन र प्रशिक्षण । उपमहानगरपालिकाले सहकारी ऐन २०७४ र नियमावली २०७७ बनाएको छ । कानून बनाउने, अनुगमन गर्ने, दर्ता गर्ने, खारेजी गर्ने, निर्देशनहरु दिने, तालिम प्रशिक्षण दिएर सहकारीलाई व्यवस्थित गर्ने काम भइरहेको शाखा प्रमुख रानाले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका सहकारी तथा गरिवी निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) लाई व्यवस्थित गर्न जोडदार रुपले लागेको छ । कोपोमिसमा सबैले इन्ट्री गरिदिए अनुगमनका लागि कार्यालयहरुमा जानु पर्दैनथ्यो । यो नेपाल सरकारले दिएको सफ्टवेयर हो । नगरमा अहिलेसम्म ६४ वटा सहकारीले सूचना प्रणालीमा इन्ट्री गरेका छन् । अरु सहकारीलाई पनि इन्ट्री गर्न आग्रह गरिएको छ ।
नेपालगन्जमा चार वर्ष अघि मात्रै सहकारी शाखा छुट्टै बनाइएको छ । त्यसअघि महिला विकासले हेर्ने गर्दथ्यो । सहकारी शाखामा कर्मचारीको अभाव देखिन्छ । एक जना शाखा प्रमुख रानालाई मात्रै सबै जिम्मेवारी दिइएको छ । रानालाई दुई जना प्रोजेक्टका कर्मचारीले सहयोग गरिरहेका छन् । शाखामा कम्तीमा तीन जना कर्मचारी हुँदा काम गर्न सहज हुने शाखा प्रमुख रानाको भनाई छ । यो शाखालाई सामाजिक सुरक्षा, पञ्जीकरण, स्वमूल्यांकन, बजार अनुगमनको पनि जिम्मेवारी दिइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सहकारीहरुले आर्थिक कारोबारमा अभिलेख दुरुस्त राख्नु पर्ने बताउदै राम्रो गर्नेलाई सम्मान र खराव गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउदै आउनु भएको छ । आर्थिक विकास समिति संयोजक एवं वडा नं. ४ का अध्यक्ष गोपाल पुनले सहकारी राज्यको अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएकाले यसप्रति जनविश्वास बढ्ने गरी काम गर्न जरुरी रहेको बताउनुभयो ।
सघन अनुगमनका लागि नेपालगन्ज उपमहानगरपालिकाको सहकारी शाखामा एक जना छुट्टै कर्मचारीको आवश्यक रहेको छ । सघन हेर्नका लागि धेरै दिन लाग्न सक्छ । सहकारीको पुरै फाइल हेर्नुपर्छ । यो शाखामा बजेट पनि कम रहेको छ । वर्षमा १५÷१६ लाख रुपैया बजेट छुट्याइन्छ । त्यसले शाखाले तालिम र प्रशिक्षण चलाउँछ । पालिकाको जम्मा बजेटको दश प्रतिशत रकम सहकारीमा छुट्याउनु पर्ने भनिएपनि त्यसो गरेको पाइदैन । न त यो शाखामा माथिबाट सशर्त कार्यक्रम नै आउँछ ।


error: यो सुविधा उपलब्ध छैन !