कांग्रेसले दोस्रो जिल्ला सम्मेलन गर्दै


नेपालगन्ज – नेपाली कांग्रेस, बाँकेले दोस्रो जिल्ला सम्मेलन गर्दैछ । एक हजार पाँच सय प्रतिनिधिको उपस्थितिमा कांग्रेस बाँकेले शनिबार नेपालगन्जमा जिल्ला सम्मेलन गर्ने भएको हो ।
सम्मेलनमा सांगठानिक, आर्थिक र वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुती रहने जिल्ला सभापति नारायण गौडेलले जानकारी दिनुभयो । सम्मेलनमा प्रजातन्त्र सेनानी, अग्रज व्यक्तित्व, समाजसेवी, पूर्वजनप्रतिनिधि, अग्रज नेता, प्रत्येक पालिकाबाट एक÷एक जना उत्कृष्ट कार्य गर्ने वडा सभापति, तीन कार्यकाल वडा सभापति भइसकेका वा हाल वडा सभापतिको भूमिकामा रहेका, शहीद परिवार, जनआन्दोलन र द्वन्द्वका अपाङ्ग, शिक्षातर्फ उत्कृष्ट सामुदायिक विद्यालय, स्वास्थ्यतर्फ उत्कृष्ट संस्था र मानव सेवामा समर्पित संघ संस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेस बाँकेले जिल्लाभित्र रहेका वडा, पालिका, नगर, क्षेत्र र जिल्लाले वार्षिक रुपमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुरुप जिल्लाका केही वडा, पालिका र नगरबाहेक सबै वडा र क्षेत्रमा वार्षिक सम्मेलन सम्पन्न भइसकेको जानकारी दिदै सभापति गौडेलले सम्मेलनमा विगतको समीक्षा र आगामी दिनको कार्ययोजना प्रस्तुत गर्ने बताउनुभयो ।
कांग्रेसले पार्टीको प्रभावकारी उपस्थिति गाउँगाउँमा पु¥याउन, जिल्लाका ८१ वटै वडा सभापतिका लागि प्रशिक्षण गरेको छ । पाँच वटा पालिकामा पालिकास्तरीय प्रशिक्षण गरेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सामाजिक र सिर्जनात्मक क्रियाकलापहरुमा पार्टीलाई अग्रसर बनाउन लागि परेको छ । सभापति गौडेलले ८१ वटै पालिकामा तीन महिने कार्यक्रम बनाएर टोल जागरण अभियान चलाउने, वीपी र वर्तमान अवस्थाबारेमा गाउँमा कार्यक्रम लैजाने, युवा र महिलालाई लक्षित गरेर अघि बढ्ने योजनाहरु सार्वजनिक गर्नुभयो ।
एक दिने दोस्रो सम्मेलनको पार्टीका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !