उर्जा मन्त्रीमा नमूना
नेपालगन्ज -लुम्बिनी प्रदेश सरकारमा १२ औं मन्त्रीका रुपमा कृष्णा केसी थपिएकी छन् । यसअघि १० वटा मन्त्रालय रहेकोमा भागवण्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुराएको थियाे । मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । महराले सोमबार नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं १ को १ बाट निर्वाचित कृष्णा केसी नमूनालाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको हो ।
मुख्यमन्त्री महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को बिस्तार गरेपनि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय आफैंले राखेका थिए ।
नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको सपथग्रहण गरेकी छन् ।
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १–१ मन्त्री छन् । स्वतन्त्रबाट १ जना मन्त्री भएका छन् । ८७ सदस्यीय प्रदेश सभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ ।