‘अध्यक्षसँग बा–आमा कार्यक्रम’मा निरन्तर स्वास्थ्य जाँच

राप्तीसोनारी (बाँके) – बाँकेको राप्तीसोनारी गाउँपालिकाले सञ्चालन गरेको ‘अध्यक्षसँग बा–आमा कार्यक्रम’अन्तर्गत निरन्तर स्वास्थ्य जाँच भइरहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार, चालु आर्थिक वर्षदेखि सञ्चालन गरिएको अध्यक्षसँग बा–आमा कार्यक्रममा निरन्तर स्वास्थ्य जाँचका कार्यक्रम चलिरहेको छ । पालिकाले विभिन्न निकायसँग मिलेर गाउँ–गाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो ।
पालिकाले नेपाली सेनासँग मिलेर महादेवपुरीमा स्वास्थ्य शिविर गरिसकेको छ । त्यहाँ ६ किसिमको सेवा दिइएको थियो । वडा नं. १, २, ४, ७ र ८ नम्बर वडामा कानको शिविर चलाइएको छ । वडा नं. ३ मा दाँतको शिविरको कार्यक्रम पारिएको छ । गाउँपालिकामा ‘उपाध्यक्षसँग गर्भवती सुत्केरी र अपाङ्गता सहकार्य कार्यक्रम’ पनि सञ्चालनमा रहेको छ । यसअन्तर्गत केही दिनमै पाठेघरको शिविर चलाउने तयारी भएको छ भने अपाङ्गता व्यक्तिको स्वास्थ्य परीक्षणको कार्यक्रम चलिरहेको छ ।
अध्यक्षसँग बा–आमा कार्यक्रमअन्तर्गत नै बिहीबार पालिकाका चार वटा वडामा बृहत आँखा जाँच कार्यक्रम गरिएको छ ।
तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनिया देउखुरी दाङसँग सहकार्य गरेर २, ५, ८ र ९ नम्बर वडामा सञ्चालन गरिएको निशुल्क मोतिविन्दु छनौट तथा आँखा शिविरमा एक हजार चार जनाले सेवा लिएका छन् । त्यसमध्ये एक सय ४९ जनामा मोतिविन्दु देखिएकाले अप्रेसनको तयारी गरिएको छ ।
वडा नं. २ को कचनापुर स्वास्थ्य चौकीमा आयोजित शिविरमा २ सय ४६ जनाले सेवा लिएका छन् । त्यसमध्ये ३८ जनामा मोतिविन्दु देखिएकाले अप्रेसनको लागि छनौट गरिएको छ । यहाँ ४३ जनाले ल्याब सेवा लिएका थिए । वडा नं. ५ को विनौना स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा २ सय ३२ जनाले सेवा लिएका छन् । ४१ जनामा मोतिविन्दु देखिएको छ । ३० जनाले ल्याबको सेवा लिएका छन् ।
वडा नं. ८ को आधारभूत स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा २ सय ४५ जनाले सेवा लिएका छन् । ४३ जना छनौट भएका छन् । वडा नं. ९ को महादेवपुरी स्वास्थ्यचौकीमा आयोजित शिविरमा २ सय ८० जनाको आँखा जाँच गरिएको छ । २७ जनामा मोतिविन्दु देखिएकाले अप्रेसनका लागि छनौट गरिएको छ । पालिकाले यसअघि नै वडा नं. १, ३, ४, ६ र ७ नम्बर वडामा आँखा शिविर सञ्चालन गरिसकेको छ ।
प्रमुख प्रशासकीय अधिकृत देवकोटाले मोतिविन्दु देखिएकाहरुको तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनिया देउखुरी दाङमा निशुल्क अप्रेसन हुने जानकारी दिनुभयो । अप्रेसन गर्ने व्यक्तिलाई पालिकाले लैजाने र ल्याउने व्यवस्था गर्ने जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !