बाँकेमा एड्स संक्रमित घट्दै


नेपालगञ्ज – बाँकेमा एचआइभी/एड्स संक्रमितको संख्या घटेको पाइएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेले दिएको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७९-८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा एक सय नौ जना संक्रमित फेला परेका छन् । आर्थिक वर्ष २०७८-७९ मा ११ हजार ७ सय ४५ जनाको जाँच गर्दा एक सय ५७ जना संक्रमित फेला परेका थिए ।
स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन रविन्द्र शाहले भेरी अस्पताल, नेपालगञ्जमा ५ सय ५६ जनाले एआरटी खाइरहेको जानकारी दिए । एड्सबाट अहिलेसम्म बाँकेमा १ सय ७२ जनाको मृत्यु भएको छ ।
विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगञ्जमा नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा स्वास्थ्य कार्यालयलगायतले पत्रकार अन्तरक्रिया गरेको थियो । भेरी अस्पतालका डाक्टर संकेत रिसालले एचआइभी/एड्सका बारेमा जानकारी दिएका थिए । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दलगायतको उपस्थितिमा एचआइभी/एड्सको इतिहास, संक्रमण, रोकथामलगायतका बारेमा जानकारी दिइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !