डुडुवाले राहत पठायो


डुडुवा – जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले राहत सामाग्री पठाएको छ ।
भुकम्पपीडितको तत्काल राहतका लागि खाद्यान्न सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
अध्यक्ष चौधरीका अनुसार, चामल १ सय ५० बोरा, दाल २० बोरा, खाने तेल ३० पेटी, नुन ६ बोरा, सोयविन २० बोरा, डसना ३ सय थान, तकिया ३ सय थान, कम्बल १ सय ५० थान पठाइएको छ । उक्त राहत सामाग्री जाजकोट र रुकुमका भुकम्पपीडितलाई आज विहान पठाइएको गाउँपालिकाका जिन्सी शाखा प्रमुख ऋषिराज गौतमले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका दुई जना प्राबिधिक विरु चौधरी र भियम्स चौधरीलाई पठाइएको छ ।
राहतका लागि पठाइएको सामाग्री गएराती मध्यरातसम्म तयारी गरि विहान एक वटा ट्रकमार्फत पठाइएको गाउँपालिका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताउनुभयो । उहाँका अनुसार भुकम्पपीडितका लागि जाजरकोट र रुकुमका एक सय ५० पीडित परिवारलाई राहत उपलब्ध गराइने छ ।
गाउँपालिकाले भुकम्पमा परि घाइते भएका विरामीलाई उद्धार तथा अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स समेत पठाएको छ । गाउँपालिकाले शनिबार दुई जना चालकसहितको एक वटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको अध्यक्ष चौधरीले बताउनुभयो । एम्बुलेन्सले अहिले घाइतेको उद्धार, आफन्तलाई सेवा दिइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !