कपास विकास समिति खारेजप्रति एमाले आक्रोशित

नेपालगञ्ज – कपास विकास समिति खारेज गर्ने सरकारको निर्णयप्रति नेकपा एमाले, बाँकेले आपत्ति जनाएको छ ।

सरकारले जेठ १५ गतेको बजेट भाषणमा समिति खारेज गरेको उल्लेख गरेको थियो । एमाले, बाँकेले सरकारले उक्त निर्णय खारेज नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बाँकेको खजुरामा २०३७ पुस १ गते स्थापना भएको कपास विकास समितिले बाँके, बर्दिया, दाङ जिल्लामा कपास खेती गर्दै आएको छ । यस क्षेत्रका किसानले लगाएको कपासलाई समितिले खरिद, प्रशोधन तथा बिक्री वितरण गर्दै आएको छ ।

आगामी वर्ष दश हजार क्वीन्टल कपास खरिद गर्दै लक्ष्य निर्धारण गरेर समितिले बाँके, बर्दिया र दाङ जिल्लाका कृषकलाई डेढ सय विगाहका लागि बिउ, विषादी वितरण गरिसकेको अवस्थामा सरकारले समितिलाई खारेज गरेको छ ।

हेटौडा कपडा उद्योग, बुटवल धागो कारखानालाई कच्चा पदार्थ उपलब्ध गराउने उद्देश्यले स्थापना भएको समितिले बजारको खोजी गरी विराटनगर, काठमाडौं, बुटवलका सेनेटरी प्याड बनाउने उद्योगलाई कपास बिक्री गर्दै आएको छ । समितिसँग अरबौंको जमिन, करोडौको आधुनिक कपास प्रशोधन मेसिन रहेको छ । केपी शर्मा ओलीको तत्कालिन सरकारका कृषिमन्त्री चक्रपाणी खनालका पालामा सहसचिव गोविन्दप्रसाद शर्माको संयोजकत्वमा गठन गरिएको राष्ट्रियस्तरमा कपास खेती विस्तार तथा प्रवद्र्धन कार्य दलले दिएका सुझाव कार्यान्वयन गरी समितिलाई मजबुद गराउनु पर्नेमा वर्तमान सरकारले हचुवाको भरमा खारेज गर्ने निर्णयप्रति गम्भीर आपत्ति रहेको जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।

अध्यक्ष कक्षपतिले समिति खारेज गर्ने निर्णय तत्काल फिर्ता लिई किसानको मागलाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।

समितिसँग बर्दियाको बढैयाताल गाउँपालिकामा ५ विगाह १२ कठ्ठा, मधुवन नगरपालिकामा ३ विगाह, तुलसीपुर उपमहानगरपालिका टरीगाउँ दाङमा ३ विगाह, खजुरा गाउँपालिका वडा नं. ३ बाँकेमा १० विगाह, कुम्भर फारम बर्दियामा ८ सय २५ विगाह जमिन २०३३ सालको मन्त्रीपरिषद्बाट निर्णय भई प्राप्त भएको छ । लालपूर्जा नभएको कुम्भरमा २०६० सालदेखि अतिक्रमण गरिएको छ ।

समितिको खजुरामा अत्याधुनिक भवन र गोदाम रहेको प्रधान कार्यालय, ४० क्वीन्टल प्रतिघण्टा प्रशोधन गर्ने क्षमता भएको कपास प्रशोधन मेसिन ५ वटा, करोडौ रुपैया बराबरको कर्मचारी आवास गृह, जमुनी बर्दियामा गोदाम, अफिस घर, मधुवन नगरपालिकामा गोदाम अफिस घर रहेको छ । समितिमा ८ जना कर्मचारी स्थायी, १५ जना ज्यालादारी चौकीदार, कम्प्यूटर अपरेटर, फिल्ड सहायक रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !