काेहलपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

कोहलपुर – कोहलपुर नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आज पालिका खोप समन्वय समिति कोहलपुरको आयोजनामा आयोजित एक कार्यक्रमकाबीच जिल्ला खोप समन्वय समितिका सहसंयोजक समेत रहनु भएका जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले कोहलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु भएको हो ।

कोहलपुर नगरपालिकाका एक वर्ष मुनिका १ हजार ७७६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य थियो । त्यसमा बीचमा ११ जना खोप लगाउन छुटेका थिए । छुटेकालाई पनि खोप लगाइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिनुभयो ।

घोषणासभा पालिका खोप समन्वय समिति संयोजक समेत रहनु भएका  नगर प्रमुख पूर्णप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सह संयोजक समेत रहनु भएका जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्कीले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिका खोपबाट बन्चित हुन नहुने बताउनुभयो ।

नगर प्रमुख आचार्यले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने सवालमा नगरपालिका प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो ।

नगर उपप्रमुख संगीता सुवेदीले खोपको सवालमा नगरपालिकाले प्रभावकारी कार्य गरेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने गरि पालिका लागेको बताउनुभयो ।

जिल्ला खोप समन्वय समितिले खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेकामा कोहलपुर नगरपालिकालाई कदरपत्र सहि सम्मानित गरेको छ । अहिलेसम्म कोहलपुर नगरपालिकासहित खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकालाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले १३ प्रकारका रोग विरुद्धका  खोप बालबालिकालाई लगाउने गरिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !