व्यपारीलाई घर भाडामा छुट दिन माग

नेपालगञ्ज – नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेले व्यापारीको पलायन रोक्न र व्यापारीलाई टिकाइ राख्नका लागि घर भाडामा छुट दिन जोडदार माग गरेको छ ।

महासंघका बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नियमित बढाउदै आएको घरभाडा सहज अवस्था नहुने बेलासम्म नबढाउन, खाली भएका सटर वा गोदामलाई सहुलियत दरमा उपलब्ध गराई बजार पलायन हुनबाट रोक्न र हाल लिइरहेको भाडालाई अहिलेको आर्थिक मन्दी र घट्दो व्यापार सही स्थानमा नआउदासम्म जति सकिन्छ, भाडादरमा छुट उपलब्ध गराउन माग गर्नुभयो ।

श्रेष्ठले आफ्ना घरमा बसेका पाँच जना व्यवसायीको एक वर्र्षसम्म दश प्रतिशत भाडा छुट दिने घोषणा गर्नुभयो ।

महासंघले नेपालगञ्जको व्यवसायलाई टिकाइ राख्न स्थानीय सरकारले लिने गरेको व्यवसायिक कर र भाडामा छुट दिने घरधनीको घरबहाल कर मिनाहा गरिदिन अनुरोध गरेको छ । महासंघका सचिव भीम रानाभाटले व्यवसायीले नियमित तिर्दै आएको नविकरण शुल्कहरु जस्तै नगरपालिका, बाणिज्य कार्यालय, घरेलु, औषधी व्यवस्था कार्यालय, अन्तशुल्क कार्यालय, उद्योग बाणिज्य संघलगायत मातहतका कार्यालयहरुले नविकरण तथा जरिवाना मिनाहा गरिदिन माग गर्नुभयो ।

व्यापारीहरु सञ्जय अग्रवाल, ज्ञानेन्द्र श्रेष्ठ, मधुसुदन शर्मा, भीम कँडेल, मिना ढकाल, सरला विष्टले व्यापारीको पलायनले नेपालगञ्जको रौनक घट्दै गएकाले व्यापारीलाई बचाउन र टिकाउन सबै निकाय लाग्नु पर्ने बताउनुभयो ।

नेपालगञ्जबाट दुई सय व्यापारी पलायन भइसकेको बताइएको छ । नेपालगञ्जका मुख्य बजार क्षेत्रमै सटर खाली रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !