नेपालगञ्जका सात चोकमा निशुल्क वाईफाई

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका सात स्थानलाई ‘फ्रि वाईफाई जोन’ बनाइएको छ । नगर प्रमुख प्रशान्त विष्टले मंगलबार ‘फ्रि वाईफाई जोन’को शुभारम्भ गर्नुभयो ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँगको सहकार्यमा उपमहानगरपालिकाले निशुल्क वाईफाईको सेवा शुरु गरेको हो । पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्रि वाईफाई जोन’ बनाइएको छ ।

वीपीचोक, धम्बोझीचोक, चौलिक्काचोक, सेतुविकचोक, पुष्पलालचोक, कारकादोचोक र भेरी अस्पताल क्षेत्रलाई ‘फ्रि वाईफाई जोन’ बनाइएको सूचना प्रविधि शाखाका प्रमुख घनश्याम बर्माले जानकारी दिनुभयो ।

‘नगरलाई सूचना प्रविधिमैत्री बनाउदै सर्वसाधारणलाई निशुल्क इन्टरनेटको सुविधा दिने उद्देश्यले हाललाई केही मुख्य चोकलाई लक्षित गरी वाईफाई निशुल्क चलाउने व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताउनुभयो । अहिलेलाई हामीले मानिसको बढी चहलपहल हुने सात स्थानमा फ्रि वाईफाईको सुविधा दिएका छौं, लगत्तै अन्य चार स्थानलाई पनि ‘फ्रि वाईफाई जोन’ बनाउँछौं, अहिले परीक्षणका रुपमा अघि बढेका छौं, यसको प्रयोग गर्दा आउने प्राविधिक समस्या हेरेर थप ठाउँमा विचार गर्ने छौं, नगर प्रमुख विष्टले भन्नुभयो, नगरलाई सूचना प्रविधिमैत्री बनाउने अभियानमा छौं । हाम्रा २३ वटै वडामा इन्टरनेट पहुँच पुगेको छ । अनलाइन प्रणाली शुरु गरेका छौं ।’

उहाँले योसँगै सूचना प्रविधिका क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिकाले अर्को एउटा फड्को मारेको बताउनुभयो ।

अब लगत्तै त्रिभुवनचोक, राँझाचोक, गणेशमान चोक र ट्राफिकचोकमा वाईफाई सेवा विस्तार गर्ने तयारी गरिएको छ । एक जना व्यक्तिले २४ घण्टामा ५ सय एमबी बराबरको डाटा प्रयोग गर्न पाउने बर्माले जानकारी दिनुभयो । हरेक चोकको तीन सय मिटर उत्तर र दक्षिणसम्म इन्टरनेट पहुँच हुने सुविधा दिइएको छ । एक चोकबाट अर्को चोक पुग्दासम्म डिस्कनेक्ट नहुने गरी सुविधा दिने प्रयास गरिएको छ ।

वल्र्ड लिंग, नेपालगञ्जका प्रमुख नवराज शर्माले अप्ठेरो अवस्थामा वाईफाईको सही सदुपयोग होस् भन्ने हेतुले हाललाई मुख्य चोकहरुमा शुरुवात गरिएको बताउदै यसको दुरुपयोग वा अनाधिकृत प्रयोग गर्न पब्लिकलाई ट्रयाक गरेर सिस्टममा ल्याउन पोर्टल पनि बनाइएको जानकारी दिनुभयो ।

सर्वसाधारणले पहिलो पटक निशुल्क वाईफाई प्रयो गर्दा आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने शर्माले बताउनुभयो । त्यसपछि आउने नोटिफिकेसनका आधारमा सुविधा पाउने छ । ‘फ्रि वाईफाई जोन’ शुभारम्भ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, वडा नं. १८ का अध्यक्ष दीपककुमार बर्मा, कार्यपालिका सदस्य बसन्तकुमार कनोजियालगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !