माइती नेपालद्वारा नेपालगञ्ज नाकाबाट ५ सय २९ जनाको उद्धार

नेपालगञ्ज – माइती नेपाल, नेपालगञ्जले सन् २०२२ मा जोखिमपूर्ण यात्रामा रहेका ५ सय २९ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ ।

घरपरिवारसँगको सल्लाह बिना रोजगारी, विवाह र घुम्न जाने बहानामा नेपालगञ्ज नाकाबाट भारत जान थालेका उनीहरुलाई माइती नेपालले नाकाबाट फिर्ता गरेको हो ।

माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले शनिबार पत्रकार सम्मेलन गर्दै गतवर्ष भन्दा यो वर्ष नाकाबाट धेरैको उद्धार गरिएको बताउनुभयो । गतवर्ष ४ सय ३४ जनालाई नाकाबाट उद्धार गरिएको थियो ।

माइती नेपालमा यो वर्ष खोजतलासको निवेदन पनि धेरै परेको छ । संयोजक कोइरालाका अनुसार, खोजतलासका लागि ६ सय ९३ जनाको निवेदन परेको छ । भारत तथा तेस्रो मुलुकमा पुगेर घरपरिवारको सम्पर्कमा नरहेका व्यक्तिका आफन्तले माइती नेपालमा खोजतलास तथा उद्धारका लागि निवेदन दिने गर्दछन् । खोजतलासका निवेदन दिएकामध्ये २ सय ४९ जना फेला परेका छन् ।

नाकामा प्रहरीसँगै बस्ने माइती नेपालले विकाससँगै भित्रिएको प्रविधिको दुरुपयोग गरेर जोखिमपूर्ण यात्रामा जाने गरिएको जनाएको छ । माइती नेपालले यो वर्ष मानव बेचबिखनका ५ वटा मुद्दा दर्ता गरेको छ । पीडितले शुरुमा दलाललाई कारबाहीका लागि निवेदन दिएपनि पछि बयान फेर्ने गर्दा दलाल उम्किने मौका पाउने गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !