एम्सको क्यालेन्डरमा नेपालगञ्ज म्याराथन
नेपालगञ्ज – आठ बर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथन विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)को अफिसियल क्यालेन्डरमा समावेश गरिएको छ ।
एम्सले सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्नेक्रममा डिसेम्बर १० तारिख शनिबारका दिन हुने म्याराथनको सूचिमा नेपालगञ्ज म्याराथनलाई एम्सको वेभसाइटमा सम्बोधन गरेको हो । यसले संसारभरका धावक एवं पर्यटकलाई नेपाल आउने ढोका खोलिदिएको नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए ।
‘विश्वका धावक तथा पर्यटकको चासो रहने एम्सको क्यालेन्डरमा पहिलोपटक नेपालगञ्ज, लुम्बिनी र नेपाल शब्द देख्दा निकै खुशी लागेको छ,’ अध्यक्ष ठकुरीले भने–‘सायद देशप्रेम भनेको यही रहेछ, विश्व समुदायमाझ नेपाल देशलाई चिनाउन पाउँदा एक नागरिकको जिम्मेवारी पुरा गरेको अनुभूति भएको छ ।’
एम्सले आफ्नो क्यालेन्डरमा नेपालगन्ज म्याराथनको सम्पर्कसम्बन्धमा सहज हुनेगरी रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङको नाम उल्लेख गर्दै जानकारी उपलब्ध गराइदिएको छ । एम्सको हेडक्वार्टर ग्रीसको एथेन्समा रहेको छ । म्याराथनको सुरुवात पनि ग्रीसबाट सुरु भएको थियो ।
एम्सको क्यालेन्डर तथा डाइरेक्टरीमा समाविष्ट भएसँगै नेपाल पहिलोपल्ट सदस्य राष्ट्रका रुपमा विश्व समुदायमाझ देखिएको छ । एम्स संसारभरिका म्याराथन आयोजकहरुको साझा संस्था हो । गत साता मात्र नेपालगञ्ज म्याराथनलाई एम्सले सदस्यता प्रदान गरेको थियो । त्यसअघि नेपालगञ्ज म्याराथनले एम्सका आधिकारिक कोर्ष मेजरर आमिर सान्डिवानद्वारा चार बिभिन्न विधाहरु ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी दुरीको रुट प्रमाणीकरण गराएको थियो ।
केएल दुगड ग्रुपको धारा तेलले मुख्य प्रायोजन गरेको आठौं धारा नेपालगञ्ज म्याराथन यही मंसिर २४ गते शनिबार हुँदैछ । दश बर्षे द्धन्द्धलाई औपचारिक बिट मार्दै विद्रोही र राज्यबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगञ्ज म्याराथले २०७२ सालदेखि यात्रा आरम्भ गरेको हो । हरेक मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको आठौं धारा नेपालगञ्ज म्याराथन यस बर्ष आम निर्वाचनका कारण मंसिर २४ गते सारिएको हो ।