बजारको रमाउने ठाउँ ‘महेन्द्र पार्क’

नेपालगञ्ज – नेपालगञ्जमा आउने बाहिरी मानिसलाई देखाउने, घुमाउने ठाउँ महेन्द्र पार्क पनि हो । बागेश्वरी मन्दिरपछि एकपटक महेन्द्र पार्क पनि पुग्ने गरिन्छ । नेपालगञ्जमा ठूल्ठूला फनपार्क बनेपनि महेन्द्र पार्कको आफ्नै रौनक रहेको छ ।

बाहिरका मानिसको लागि मात्रै होइन, आन्तरिक पर्यटकको रमाउने ठाउँ बनेको छ, महेन्द्र पार्क । विशेष गरेर महेन्द्र पार्क बच्चालाई मनोरञ्जनका लागि घुमाउने अभिभावकको रोजाईमा पर्ने गरेको छ । पार्कमा धरहरा, बच्चाहरु खेल्ने झुलाहरु बनेपछि बच्चाहरुको लागि अझ आकर्षणको थलो बनेको छ । पार्कमा पुगेपछि जनावरहरु त हेर्न पाइन्छ नै ।

महेन्द्र पार्क नेपालगञ्जको सान नै हो । शहरको बीचमा रहेको यो पार्कमा पुगेर केहीबेर आनन्दले मन भुलाउन सकिन्छ ।
महेन्द्र पार्कले आन्तरिक पर्यटनलाई आकर्षित गरिरहेको छ । संरक्षित जनावर देख्दा त्यहाँ पुग्ने जो कोहीले आनन्दको अनुभूति गर्ने गर्दछन् । नेपालगञ्ज उपमहानगरपालिकाले प्रत्यक्ष संरक्षण गरिरहेको महेन्द्र पार्क बेलाबेलामा ठेक्कामार्फत सञ्चालन हुने गर्दछ ।

महेन्द्र पार्कमा चित्तल, रतुवा, आष्ट्रिज, विज्जु, अजिंगर, मुसा, खरायो, मयुर, हाँस, गोही रहेका छन् । पार्कका कर्मचारी अस्लम रिज्वीका अनुसार, २० वटा चित्तल, ३ वटा रतुवा, २ वटा विज्जु, एउटा अजिंगर, १५ वटा मुसा, २ वटा मयुर, ३ वटा हाँस, ३ वटा गोही रहेका छन् । महेन्द्र पार्क करिव एक वर्षदेखि ठेक्कामा सञ्चालन भइरहेको छ । त्यसअघि लामो समयसम्म महेन्द्र पार्कको ठेक्का हुन सकेको थिएन ।

महेन्द्र पार्कमा शनिबार भीड नै लाग्ने गर्दछ । बिदाको दिनमा अभिभावकले आफ्ना बच्चालाई डुलाउन महेन्द्र पार्कमा लैजाने गर्दछन् । कर्मचारी रिज्वीले शनिबार धेरै मानिस घुम्न आउने जानकारी दिनुभयो ।

बीचमा महेन्द्र पार्कमा अर्को संरचना बनाउने तयारी गरिएको थियो । शहरको बीचमा एउटा पार्क चाहिने र महेन्द्र पार्क ऐतिहासिक भएको आवाज आएपछि महेन्द्र पार्कलाई थप व्यवस्थित गरिएको हो । महेन्द्र पार्कमा अर्को सुन्दरपक्ष धरहरा बनाइएको छ । जनावर र चराचुरुंगीसँगै धरहरामा सेल्फी खिच्नु महेन्द्र पार्कमा पुग्नेहरुको दैनिकीजस्तै हो भन्दा हुन्छ ।

महेन्द्र पार्कलाई थप व्यवस्थित गर्न सकेमा अझ यसको आकर्षण बढ्ने देखिन्छ । त्यसका लागि दुर्लभ र संरक्षित जनावर र चराचुरुंगी थप्नु पर्दछ । नेपालगञ्जको पर्यटकीयस्थलहरुमा महेन्द्र पार्क पनि अभिन्न अंग नै हो भन्दा हुन्छ । त्यसलाई त्यही रुपमा विकास गर्न जरुरी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !