३५ मिनेट जहाज आकाशमा होल्ड भएपछि आत्तिएर महिला बेहोस्

नेपालगञ्ज – काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज खराब मौसमका कारण ३५ मिनेटमा आकाशमा होल्ड भएपछि जहाजमा रहेकी एक महिला बेहोस् भएकी छन् ।
विहान ७.४४ बजे काठमाडौंबाट आएको बुद्ध एयरको जहाज ८.४४ मा नेपालगञ्ज विमानस्थलमा अवतरण हुुनु पर्नेमा पानी परेका कारण ३५ मिनेट आकाशमा होल्ड भइरहेपछि काठमाडौं निवासी जानुका थापा बेहोस् भएकी हुन् । जहाज ९.१९ बजे ल्याण्ड भएको थियो ।
मौसमका कारण जहाज केहीबेर आकाशमा होल्ड भएपछि महिला आत्तिएकाले समस्या आएको बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जानकारी दिनुभयो । शाहका अनुसार, ती महिलालाई जहाज ल्याण्ड हुने वित्तिकै एम्बुलेन्समा राखेर राँझामै रहेको नेपाली सेनाको अस्पतालमा लगिएको छ । महिलाको अवस्थामा सामान्य रहेको शाहले जानकारी दिनुभयो ।
विहान नेपालगञ्ज केहीबेर पानी परेको थियो । त्यहीबेलामा जहाज अवतरण हुन नसकेर आकाशमा होल्ड भएको सम्बद्धहरुको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !