खजुराले बनायो, विपन्नलाई घर

नेपालगञ्ज – एउटै डिजाइनका घर, भान्छासहित दुई कोठे । हेर्दा मनै लोभ्याउने, आकर्षित । खजुराको कगाउँ छेउमा यस्ता १६ वटा घर बनेका छन् ।
घरमा विद्युत, पानी, शौचालयको राम्रो प्रवन्ध गरिएको छ । गाउँमा जाने बाटो ग्राभेल गरिएको छ । अब यो राम्रो घरमा विपन्न परिवारलाई बसाउने तयारी भएको छ ।
तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गतको सामुहिक आवास हो यो । खजुरा गाउँपालिका वडा नं. ३ मा बीगाउँदेखि कगाउँ जाने बाटोमा यी घरहरु बनेका छन् । गाउँपालिकाले अब तारबार गर्नुबाहेकको काम सकेको छ । ७० लाख बजेटको यो सामुहिक आवासमा बस्नका लागि गरीव, विपन्न खोजी थालिएको छ । अब कम्पाउण्डको काम गर्दा ४० लाखजति खर्च हुने अनुमान गरिएको छ ।
सरकारी जग्गामा बनेका यी घरमा घरबास नभएका, ज्याला मजदुरी गरेर खानेलाई बस्न दिने गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । ‘जो खजुरामा क्षेत्रमा बस्छन् । घरबास छैन भने उसले यहाँ बस्न पाउँछन्, गाउँपालिकाका अध्यक्ष कक्षपतिले भन्नुभयो, यहाँ निशुल्क बस्न दिने हो । तर, घर उसको नाममा हुँदैन ।’
सामुहिक आवासमा बस्नेलाई गाउँपालिकाले काम पनि दिने जनाएको छ । यी घरमा बस्ने मान्छे गाउँपालिकाले फाइनल गरिसकेको छैन । सूचना निकाल्दा जम्मा १० जनाको निवेदन परेको छ । गाउँपालिकाले फेरि सूचना निकाल्ने तयारी गरेको छ ।
यी घरमा बस्नका लागि केही शर्तहरु रहेका छन् । योजना अधिकृत दिलबहादुर पौडेलका अनुसार, ५ वर्षदेखि खजुरामा स्थायी बसोबास गरेको, आफू र परिवारको नाममा घरजग्गा नभएको, ज्याला मजदुरी गरेर खाने व्यक्तिले सामुहिक आवासमा बस्न पाउँछन् । यी सबै शर्तहरु सम्बन्धित वडा कार्यालयबाट सिफारिस गरेर ल्याउनु पर्छ ।


गाउँपालिकाले यो आर्थिक वर्षमा त्यहाँ बस्नेको फाइनल गर्ने जनाएको छ । असार मसान्तसम्ममा कागजी प्रक्रिया पूरा गरेर अर्को आर्थिक वर्षदेखि त्यहाँ विपन्नलाई बसाउने गाउँपालिकाको योजना रहेको छ ।
योजना अधिकृत पौडेलले यी घरमा बस्ने व्यक्तिसँग गाउँपालिकाले एउटा सम्झौता गर्ने जानकारी दिनुभयो । घरलाई आफ्नै सम्झेर सरसफाईदेखि सुरक्षित राख्नु पर्छ । एकपटक बस्ने अनुमति पाएका व्यक्ति चाहेजति समयसम्म बस्न सक्छन् । उसले अर्को ठाउँमा घरबासको व्यवस्था नगर्दासम्म त्यही बस्न पाउँछन् ।
खजुरा गाउँपालिकाले गतवर्ष वडा नं. ७ मा तराई मधेस कार्यक्रमअन्तर्गत नै २२ वटा घर बनाइदिएको थियो । यो बेला घर बनाउनसम्म जग्गा भएकालाई समेटिएको थियो । आफ्नै जग्गामा घर बन्ने भएपछि निवेदन दिने धेरै थिए ।
यसपाली आफ्नो जग्गा जमिन नै नभएका र ज्याला मजदुरी गरेर खानेलाई समेट्न सामुहिक आवास बनाइएको छ । पहिलो पटक सूचना निकाल्दा धेरैले थाहा नपाएको हुन सक्ने केहीको भनाई रहेको छ । फेरि ज्याला मजदुरी गर्नेहरु बजार क्षेत्र आसपासमा बस्ने भएकाले कगाउँ अलिकति भित्र पर्दा अपायक हुन सक्छ । ज्यालादारी गर्ने र समस्यामै परेका व्यक्तिहरुको यी घर रोजाईमा पर्छ । गाउँपालिकाले पनि यस्तै मान्छे खोजेको छ ।


error: यो सुविधा उपलब्ध छैन !