गाउँ र शहर मिसिएको वडा नं. १३ मा धमाधम पीसीसी ढलान

नेपालगञ्ज – धोवीटोलका सुरेश धोवीलाई बर्खामा घर बाहिर निस्कियो कि हिलो कुल्चिनु पथ्र्यो । अरु बेला सडक धुलाम्य हुन्थ्यो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ मा पर्ने धोवीटोलको सडक पीसीसी ढलान भएपछि अहिले सुरेशलाई न हिलो न त धुलोमा नै हिड्नु परेको छ । सुरेश भन्नुहुन्छ, ‘वडाले बाटो पीसीसी ढलान गरिदियो । हिलो र धुलोको समस्या हट्योे ।’
वडा कार्यालयले चार लाख रुपैयामा धोवीटोलको ७० मिटर बाटो पीसीसी ढलान गरेपछि त्यहाँका बासिन्दाले हिलो र धुलोबाट मुक्ति पाएका छन् । झट्ट सुन्दा यति थोरै पीसीसी भनेजस्तो लागेपनि वर्षौदेखि हिलो र धुलोको समस्या झेलेका स्थानीयवासीलाई त्यसले ठूलो राहत दिएको छ ।
बुलबुलियाको रमेश शाहको घर बाटोको पनि बर्खामा हिड्नै नसकिने समस्या थियो । वडाको योजनामा परेर पीसीसी ढलान भएपछि हिलोमा हिड्नु पर्ने बाध्यता हटेको छ । यो एक सय ३५ मिटर बाटो ६ लाख रुपैयामा पीसीसी ढलान गरिएको थियो ।
वडा कार्यालयका नासु रामकुमार पौडेलका अनुसार, आर्थिक वर्ष ०७६-७७ मा लोनियापुरमा सात लाखमा एक सय ८० मिटर, लोधईगाउँमा ६ लाखमा एक सय २० मिटर, महापूर्वमा चार लाखमा ८० मिटर, गंगापुरमा दुई लाख २० हजारमा ६० मिटर, सरस्वती मन्दिर पूर्व दुई लाखमा २५ मिटर, बुलबुलिया गाउँमा आठ लाखमा एक सय ७५ मिटर, रामबागमा पाँच लाखमा सय मिटर बाटो पीसीसी ढलान गरिएको छ । करिव एक किलोमिटर पीसीसी ढलान गर्दा ४४ लाख २० हजार रुपैया खर्च गरिएको छ । यो वर्ष ग्राभेल र माटो पटानमा ६ लाख ५० हजार रुपैया खर्च गरिएको छ ।
आर्थिक वर्ष ०७५-७६ मा ३१ लाख रुपैया पीसीसी ढलान र दुई लाख पचास हजार रुपैया ग्राभेल र माटोमा खर्च गरिएको थियो ।
वडा नं. १३ मा नेपालगञ्ज बजार र उदयपुर गाउँ समेटिएको छ । नेपालगञ्ज बजार क्षेत्रमा पहिलादेखि नै सडक पिच भइरहेका थिए । उदयपुर गाउँमा भने एउटा सडक पिच थिएन । वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले आफूहरु आइसकेपछि लडेर बुलबुलियादेखि गौरीपूर्वासम्मको मुख्य बाटो पिच गराएको बताउनुभयो । यो बाटो बनेपछि कम्तीमा वडा कार्यालय पिच बाटोसँग जोडिएको छ । योसँगै रंगशाला जाने बाटो पिच भएको छ ।
आधा शहर र आधा गाउँ मिसिएको वडा नं. १३ का वडाध्यक्ष शाहले गाउँटोलमा प्राथमिकताका आधारमा पीसीसी ढलान गरिरहेको बताउनुभयो । ‘टोल भेला, गाउँ भेलाबाट योजनाहरु आउँछन् । त्यसलाई वडामा प्राथमिकीकरण गरिन्छ । वडाको बोर्डले फाइनल गरेपछि बजेट छुट्याउने काम हुन्छ, वडाध्यक्ष शाहले भन्नुभयो, ‘प्राथमिकताका आधारमा हामीले काम गरिरहेका छौं ।’
वडाले वर्षमा दर्जन हाराहारीमा साना सडकलाई पीसीसी ढलान गरिरहेको छ । विकासको आधार बाटोलाई पनि लिने गरिन्छ । प्रदेश, संघबाट खासै सहयोग नभइरहेको वडाले आफ्नो बलबुताले भ्याएसम्म काम गरिरहेको छ । आव ०७६-७७ मा एक करोड २८ लाखको बजेट हुँदा वडाले पचास लाख रुपैया सडक पीसीसी ढलान, ग्राभेलमा खर्च गरेको थियो । अघिल्लो वर्ष एक करोड ६ लाखको बजेट हुँदा पीसीसी ढलान, ग्राभेलमा ३६ लाख रुपैया खर्च गरिएको थियो ।
वडाले आफ्नै बजेटले ठूल्ठूला करोडौको सडक एकैपटक बनाउन सक्दैन । प्राथमिकताका आधारमा छोटो छोटो दुरीको सडक पीसीसी ढलान गरिरहेको छ । सडक निर्माणमा वडाले आफ्नो ठूलै रकम खर्च गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !