फोरलेनमा ‘एम्बुस’ !
नेपालगञ्ज – नेपालगञ्जको सुन्दरतामा फोरलेन सडकले ठूलो मद्दत पु¥याएको छ । सुर्खेतरोडलाई फोरलेन बनाउदा शहरको रौनक बढेको छ ।
त्यही फोरलेन सडकमा बेला–बेलामा भने ‘एम्बुस’ थाप्ने काम भइरहेको छ । अर्थात, सडकको बीचमा खाल्टाखुल्टी हुने गरेका छन् । फोरलेन सडक अनि बीचमा खाल्टो, त्यसले दुर्घटनाको जोखिम उच्च बनाएको छ ।
धेरै समयदेखि नेपालगञ्जको वीपीचोक नजिकको गुरुद्वारा अगाडि बीच सडकमै खाल्टो परिरहेको छ । केही समय माटो हालेर पुर्ने काम भएपनि अहिले फेरि खाल्टो भएको छ । तीब्रगति होस् वा सुस्त, सवारी साधनका लागि त्यो एम्बुस नै भन्दा हुन्छ । त्यहाँ प¥यो भने ठूलो दुर्घटना हुन सक्छ ।
त्यहाँ मात्रै होइन, अलिकति अगाडि बढेर धम्बोझीतिर आउदा बीचमा फेरि अर्को एम्बुस देखा पर्दछ । त्यो पनि दुर्घटनाका लागि काफी नै देखिन्छ ।
फोरलेन सडकमा यस्ता भ्वाङले स्थानीय अधिकारीहरुलाई जिस्क्याइरहेको भान हुन्छ । सडकको बीचमा खाल्टो देख्ने बित्तिकै यात्रुले गाली गर्ने मेयर र उपमेयरलाई नै हो, अर्थात स्थानीय तहका अधिकारीहरुलाई । यो कुरा त उनीहरुलाई थाहा छ । तर पनि बीच सडकको त्यत्रो ठूलो खाल्टो मेयर र उपमेयरले किन नदेखेका होलान् ? आम मानिसले प्रश्न गर्न सक्छन् । भलै, काम सडक विभाग वा खानेपानी कार्यालय, जसको भएपनि भएपनि मेयरले पहल त गर्न सक्छन् । मेयर सा’पले एक कल सडक विभागका हाकिमलाई गरिदिने हो भने त्यो खाल्टो तत्काल नपुरिएला र ? फेरि यस्ता सानातिना मर्मत त उपमहानगरपालिका आफैले पनि गर्न सक्छ होला नि ? आम मानिसले यस्तो सोच्ने गर्दछन् । होइन, उपमहानगरपालिकासँग सडक मर्मत गर्ने पैसा छैन भने मेयर डा. धवलशमशेर राणाले नलिने तलवलाई त्यही सदुपयोग गरे हुन्न र ?
खाल्टो पुर्ने काम कसको हो भन्नेसँग आम मानिसको चासो रहने कुरा भएन । त्यो कुरा त स्थानीय तहका अधिकारीले बुझेर आफै गर्ने हो वा कसलाई गर्न लगाउने हो बुझ्नु पर्छ । यात्रु दुर्घटनामा पर्नु भएन, बस् ।