५ जना प्रअ राखौं, विद्यालय मर्ज गरौं
नेपालगञ्ज – नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले विद्यालयहरु मर्ज गरेर अघि बढ्न जरुरी भइसकेको बताउनु भएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक सुदृढिकरणका लागि ‘नेपालगञ्ज शैक्षिक सम्मेलन’ को उद्घाटन गर्दै मेयर राणाले कुनै विद्यालयमा त विद्यार्थी भन्दा शिक्षक बढी रहेको जानकारी दिनुभयो । ‘मर्ज गरेर अघि बढ्दा राम्रो हुन्छ, यो जरुरी पनि भइसकेको छ, राणाले भन्नुभयो, तपाईहरु लाग्नुस्, विद्यालय सुधारको लागि मर्ज आवश्यक भइसकेको छ ।’
विगतमा नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयको मर्ज गराउने तयारी गरेको थियो । तर, त्यसलाई स्कूल, शिक्षकले विरोध गरेर हुन दिएनन् । अहिले बच्चा पनि धेरै ल्याउन नसक्ने र मर्ज पनि हुन नदिने अवस्था देखिएको छ । मेयर राणाले चिट चोराएर विद्यार्थी पास गराउने परिपाटीको अन्त्य नै गर्ने उद्घोष गनुभयो ।
उपमेयर उमा थापामगर, प्राडा विद्यानाथ कोइराला, नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापालगायतले अब विद्यालय मर्ज गरेर जानुको विकल्प नभएको बताउनु भयो । प्राडा कोइरालाले सार्वजनिकमात्रै होइन, निजी विद्यालयमा मर्ज आवश्यक रहेको बताउनुभयो । ‘स्कूल धेरै भए । बरु पाँच जना प्रधानाध्यापक राखौं । तर, विद्यालय मर्ज गर्नैपर्छ, कोइरालाले भन्नुभयो । उहाँले पाठ्यक्रम समान गराउनु पर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा शैक्षिक सुधारका लागि गर्नुपर्ने उपायका बारेमा छलफल गरिएको छ ।