क्रिकेट मैदानका लागि जग्गा हेर्न भवानीयापुर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले क्रिकेट मैदान निर्माणका लागि जग्गा खोज्न खटाएको टोलीले मंगलबार भवानीयापुरको सार्वजनिक जग्गा हेरेको छ ।
जग्गा खोज्नका लागि वडा नं. २ का अध्यक्ष एवं क्यानका पूर्व केन्द्रीय सदस्य सुनिलसिंह हमालको संयोजकत्वमा गठन भएको टोलीले वडा नम्बर १४ भवानीयापुरमा रहेको सार्वजनिक जग्गाको स्थलगत अनुगमन गरि जानकारी लिएको हो ।


वडा नं. १४ का अध्यक्ष ओमकार नाथ मिश्राले क्रिकेट मैदानका लागि ६ विगाह बढी रहेको सार्वजनिक जग्गा देखाउनु भएको थियो । उहाँले आफ्नो ठाउँमा क्रिकेट मैदान बनाउने भए वडाबासीको सम्पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।


संयोजक हमाल, वडा नम्बर १३ का अध्यक्ष विरेन्द्र शाह, क्यानका ५ नम्बर प्रदेश एवं बाँके अध्यक्ष दुर्गा थापा, क्रिकेट प्रशिक्षक दिपेन्द्रप्रताप सिंह, नेपालगञ्ज उपमहानगरपालिकाको प्राविधिक सहितको टोलीले सार्वजनिक जग्गाबारे स्थलगत जानकारी लिएको हो । टोलीले वडा नम्बर १९ र वडा नम्बर ६ फुल्टेक्राको सार्वजनिक जग्गाको पनि स्थलगत अनूगमन गरि जानकारी लिने तयारी गरेको छ ।
नेपालगञ्जमा क्रिकेट मैदान बनाउन उपमहानगरपालिकाले चासो देखाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !