अपराधमा किन लाग्छन् बालकहरु ?
नेपालगञ्ज – केही महिना अघि नेपालगञ्जको सुर्खेतरोडमा रहेका नौ वटा सटर पसल एकै दिन फोरियो । मुख्य सडकमा एकै दिन यति धेरै सटर पसल फोरिएपछि नेपालगञ्जमा हल्लीखल्ली भयो । सुरक्षामा चिन्ता जताइयो ।
प्रहरीले चौतर्फी ‘मुभ’ गर्यो । केही दिनमा सबै चोर समातिए । सबै नियन्त्रणमा आएपछि बल्ल थाहा भयो, एकै दिन नौ वटा सटर फोर्ने त बालक थिए । यो काण्डपछि बालकलाई चोर बनाउन ‘प्रशिक्षण’ दिने गुरु पनि समातिए । यो समूहले नेपालगञ्ज, कोहलपुरदेखि बर्दियाको बाँसगढीसम्म चोरी गरेको खुल्न आयो । १६÷१७ वर्षका गुरुले १२÷१३ वर्षका बालकलाई प्रशिक्षण दिंदा भन्दो रहेछ, ‘१८ वर्ष हुँदासम्म चोरी गर्ने हो । यो उमेरसम्म कारबाही हुँदैन ।’ यस्तो प्रशिक्षण पाएपछि बालकहरु हौसिएर चोरीमा लाग्दा रहेछन् ।
यसरी चोरीमा लागेकाहरु अभिभाभावकको आयस्रोत थोरै भएका थिए । आमाबुवा दैनिक मजदुरीमा लाग्ने, भारतमा काम गर्न गएका, आमा या बुवा नभएका बालकहरु थिए । राम्रै कमाई, धनसम्पति भएकाको बालकहरु बिग्रिदै नबिग्रिने भने होइन ।
चोरीमात्रै होइन, बालकहरु कर्तब्य ज्यान र जबरजस्ती करणीजस्ता गम्भीर अपराधमा लागेका छन् । लागु औषधमा फसेका छन् ।
हातहातमा मोबाइल हुने र अश्लिल फिल्महरु हेरेर बालकहरु करणीजस्तो अपराधमा लागेको केही घटनाले देखाएका छन् । ज्यान मार्ने उद्योगमा त्यतिकै संलग्न देखिन्छन् । लागु औषधको कुरा गर्दा त नेपालगञ्जमा ठूलो संख्या संलग्न देखिन्छ ।
गत वर्षमात्रै बनेको बाँकेको हिरमिनियाको बाल सुधार गृहमा १ सय ३२ जना बालक छन् । जानेर÷नजानेर अपराध कर्म गरेका उनीहरु यतिबेला सुधार गृहमा बसिरहेका छन् । सुधार गृहका सुरक्षा इन्चार्ज सुरेन्द्र पन्तका अनुसार, जबरजस्ती करणीका ६७, लागु औषध ३५, कर्तब्य ज्यानका २०, चोरी ८ र अपराधिक उपद्रवका एकजना छन् । एक सय ३१ मध्ये एकजना भारतीय छन् । उनी जबरजस्ती करणी मुद्दाका हुन् । सुधार गृहमा ११ वर्षदेखिका छन् ।
अपराध गर्न पुगेका उनीहरुलाई सुधार्ने अभियानमा छ सुधार गृह । त्यहाँ अहिले ५ देखि ७ कक्षासम्म पढाई भइरहेको छ । लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । अतिरिक्त क्रियाकलापको वातावरण मिलाइएको छ ।
आवेगमा, लहलहैमा अपराध गर्न पुगेका बालकलाई सुधार्नु पर्छ । सुधार गृहमा केही १८ वर्षमाथिका छन् । उनीलाई बदमासी गरेमा जेल पठाइदिने सुधार गृह प्रशासनको योजना छ । तर, उनीहरुले नराम्रो गतिविधि गरेका छैनन् । सुधार गृह भनेको थुनेर राख्ने मात्रै होइन, सुधार्न तर्फ लाग्नु पर्छ । मान्छेले सधैं गल्ती गरिरहदैन । एक पटक गरेको गल्तीलाई सुध्रिने मौका दिनु पर्छ ।
अभिभावकले निगरानी गरेका बालबालिका बिग्रिने संभावना कमै हुन्छ । आफ्ना छोराछोरी कहाँ जान्छन्, कोसँग बस्छ, घरबाहिर कति समय बिताउँछलगायतका गतिविधिलाई निगरानी गर्दा नै अपराधकर्म त परै जाओस् सोच्नसम्म सक्दैन ।