न्यानो लुगा र खाद्यान्न सहयोग

नेपालगञ्ज – अनाथ बालबालिकालाई न्यानो लुगा प्रदान गरिएको छ । स्थानीय ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रले जानकी गाउँपालिका वडा नं. ३ स्थित समाज विकास तथा प्रवद्र्घ्रन केन्द्रमा रहेका अनाथ सडक बालबालिकालाई सहयोग गरेको हो ।
केन्द्रकी अध्यक्ष लता शर्माले ९ जना अनाथ तथा असहाय बालबालिकालाई ज्याकेट, ऊनीको स्वीटर, टोपी, पञ्जा, मोजा हस्तान्तरण गर्नु भयो । अध्यक्ष शर्माले केन्द्रका अध्यक्ष मीनबहादुर अर्याल र वार्डेन कमला अर्याललाई बालबालिकालाई दुई महिनाको लागि आवश्यक पर्ने दाल, तेल, साबुन, सर्फ, पिनेललगायतका सरसफाईका सामान पनि हस्तान्तरण गर्नु भयो ।


केन्द्रकी अध्यक्ष शर्माले दिनु भएको जानकारी अनुसार ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा उपलब्ध हुने नियमित मासिक स्वास्थ्य परीक्षण, औषधीलगायतको सहयोग सन् २०२० जनवरीदेखि एक वर्षका लागि ती बालबालिकालाई उपलब्ध गराउनका लागि आपसी सहमति भएको छ ।
यो सहमतिले सरकारी अस्पतालमा पनि निःशुल्क सेवा पाउन कठिनाई भइरहेको अवस्थामा धेरै राहत हुने प्रतिक्रिया केन्द्रका अध्यक्ष अर्यालले दिनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित धम्बोझी उच्च माध्यमिक विद्यालय नेपालगञ्ज र नेपाल राष्ट्रिय आधारभूत विद्यालय विशालनगरमा अध्ययनरत अनाथ तथा असहाय ९ जना छात्रछात्राहरुको रेखदेख समाज विकास तथा प्रवद्र्घ्रन केन्द्रले गरिरहेको छ ।
अध्यक्ष अर्यालका अनुसार समाज विकास तथा प्रवद्र्घन केन्द्रमा ९ जना अनाथ तथा असहाय बालबालिकाहरु रहेका छन् । जसमध्ये ६ जना छात्रा र ३ जना छात्र छन् ।


error: यो सुविधा उपलब्ध छैन !