नेपाल भ्रमण वर्ष उत्सवको रुपमा मनाउन पर्यटनमन्त्रीको आग्रह

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्सवको रुपमा मनाउन निजी क्षेत्रलाई आह्वान गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार–प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रम बनाउनु पर्नेमा मन्त्री भट्टराइको जोड छ ।
आइतबार नेपाल भ्रमण वर्ष–२०२० को तयारीका सन्दर्भमा आयोजित निजी क्षेत्रका संघ संस्थाहरुसँगको छलफल कार्यक्रममा मन्त्री भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ केवल ‘इभेन्ट’का रुपमा नभई दीर्घकालीन आधारशिला बनाउनेतर्फ सरकारको जोड रहेको बताउनुभयो । ‘नेपाल भ्रमण वर्ष–२०२०’ ले नेपालको नयाँ क्षितिज र नयाँ बाटो विश्व सामू देखाउने भट्टराईको भनाइ छ ।
मुलुक आर्थिक समृद्धिको बाटोमा हिँडेको उल्लेख गर्दै मन्त्री भट्टराईले अब सबैको साँझा एजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब तपाई हामी एउटै बाटोमा आइपुगेका छौँ । त्यो साँझा बाटो हो, आर्थिक समृद्धिको अभियान ।’
नेपाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भ्रमण वर्षलाई प्रचार–प्रसार तथा प्रवद्र्धनमा महासंघ जुटिरहेका जानकारी दिनुभयो । महासंघको १ सय ६ वटा जिल्ला तथा नगर, १ सय ५ वटा एशोसिएट शाखाहरु सबै यो कार्यक्रमलाई सफल बनाउन जुटेको बताउनुभयो ।
महासंघले राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय रुपमा भ्रमण वर्षको प्रमोशन गरेको अध्यक्ष राणाको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी जहाँ जान्छौँ, त्यहाँ प्रोमोशन गरेकाछौँ ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोरले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’लाई सफल बनाउन निजी क्षेत्रको पनि कर्तव्य र दायित्व भएको बताउनुभयो । अध्यक्ष मोरले बाहिर निर्यात गरिने नेपालका उत्पादनहरुमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को लोगो राख्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पर्यटनको निम्ति पूर्वाधार निर्माण जरुरी रहेको भन्दै ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई मध्यनजर गरेर भौतिक पूर्वाधारलाई तीव्रता दिनु पर्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !