बाघलाई कोरोना लाग्न सक्छ ?
नेपालगञ्ज – कोरोनाले विश्वमा आतंक मच्चायो । नेपालमात्रै दश हजार बढीको ज्यान लियो । अझै पनि दैनिक रुपमा कोही न कोहीको मृत्यु भइरहेको छ ।
यो मानिसको कुरा भयो । कोरोना जनावरलाई लाग्छ कि लाग्दैन । अझ विशेष गरेर बाघलाई के हुन्छ ? यो विषयमा नेपालमा अनुसन्धान हुन सकेको छैन । अमेरिकामा बाघ र भारतमा सिंहलाई कोरोना देखिएको थियो । बाघ र सिंह दुवै चिडिया खानामा थिए ।
नेपालमा २ सय ३५ वटा बाघ छन् । त्यसमा पनि बाँकेमा २१ र बर्दियामा ८७ वटा छन् । बाघका लागि बाँके र बर्दिया उर्वर नै मानिएको छ । बाघ र मान्छेको भेट भइरहेकै छ, कुनै न कुनै रुपमा । कतै बाघले मान्छेलाई आक्रमण गरेको छ भने कतै मान्छेलाई आक्रमण गरेका छन् । मानिस र बाघको द्वन्द्व बढ्दो नै छ ।
पछिल्लो अढाई वर्षको तथ्यांक हेर्दा बाँके, बर्दिया, कैलालीमा २३ जनालाई बाघले आक्रमण गरेको छ । चोरी शिकारीले सात वटा बाघ मारेका छन् । मान्छे मार्न पल्केका ६ वटा बाघलाई समातेर थुनिएको छ ।
नेपाल सरकार बाघलाई बचाउनसँगै दोब्बर बढाउन लागि परेको छ । यस्तो अवस्थामा बाघलाई कोरोना छ कि छैन भनेर जाँच हुन सकेको छैन । निकुञ्जसम्बद्धका कार्यक्रमहरुमा बाघलाई कोरोना लागेको छ कि छैन भनेर प्रश्न उठ्ने गरेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत डा. रविन कडरियाले चिडिया खानामा भएपनि अमेरिका र भारतमा बाघ र सिंहलाई कोरोना देखिएको बताउनु भयो । उहाँले नेपालमा बाघ र मानिसको द्वन्द्व भइरहेकाले मानिसबाट बाघलाई कोरोना सरेको छ कि छैन भनेर जाँच हुन नसकेको बतउानुभयो । डा. कडरियाले विशेष गरेर बाघ संरक्षणको सवालमा आवाज उठाउदै आउनु भएको छ ।