धरौटीमा छुटे नर्समाथि हातपात गर्ने रावत

नेपालगञ्ज – कोरोनाले आफन्तीको मृत्यु भएपछि भेरी अस्पताल, नेपालगञ्जका डाक्टर र नर्समाथि हातपात गरेका तीन जना धरौटीमा छुटेका छन् ।
दाङका डिल्ली रावतको मृत्यु भएपछि उनका भाईहरु मानबहादुर रावत र भरत रावत तथा छोरा लोकराज रावतले अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई हातपात गरेका थिए । जेठ १३ गते राती घटनालगत्तै प्रहरीले तिनै जनालाई पक्राउ गरेको थियो ।
घटनापछि अस्पतालका डाक्टर र नर्स आन्दोलनमा उत्रिएका थिए । सोही राती नै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।
प्रहरीले तिनै जनालाई ज्यान मार्ने उद्योग र अपराधिक उपद्रवमा मुद्दा चलाएको थियो । आइतबार ३ नम्बर इजलासका न्यायाधीश श्यामसुन्दर अधिकारीले तिनै जनालाई जनही ५०-५० हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिनुभयो ।
अधिवक्ता लोकबहादुर शाहका अनुसार, ज्यान मार्ने उद्योगमा दश वर्षसम्म कैद र अपराधिक उपद्रवमा चार वर्षसम्म कैद र ४० हजार जरिवानाको व्यवस्था रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विष्टको छानबिन समितिले अस्पतालको सुरक्षा कमजोरी औल्याएपछि अहिले भेरी अस्पतालमा भित्र जान पासको व्यवस्था गरिएको छ । एकजना विरामीको एकजना कुरुवाको व्यवस्था गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !