क्षयरोगबाट आठ महिनामा २० को मृत्यु
नेपालगञ्ज – चालु आर्थिक वर्षको आठ महिनामा बाँकेमा क्षयरोगबाट २० जनाको मृत्यु भएको छ ।
विश्व क्षयरोग दिवस मनाउने क्रममा सरोकारवालासँगको अन्तरक्रियामा स्वास्थ्य कार्यालय, बाँकेका क्षयरोग फोकलपर्सन मानव नेपालीले उक्त तथ्यांक प्रस्तुत गर्नुभयो । आठ महिनामा बाँकेमा ४ सय ७५ जना बिरामी फेला परेका छन् ।
नेपालीका अनुसार, सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा देखा परेका छन् । नेपालगञ्जमा एक सय ९ जना, कोहलपुरमा ९१ जना, राप्तीसोनारीमा ४७ जना, बैजनाथमा ५८ जना, खजुरामा ६५ जना, जानकीमा ३३ जना, डुडुवामा ४४ जना र नरैनापुर गाउँपालिकामा २९ जना क्षयरोगी फेला परेका छन् ।
गतवर्षको तथ्यांक हेर्दा लुम्बिनी प्रदेशमा बाँके क्षयरोगी बढी हुनेमा तेस्रो नम्बरमा रहेको छ । लुम्बिनीको १२ जिल्लामा सबैभन्दा बढी एक हजार एक सय ६३ जना रुपन्देही, ९ सय १६ जना दाङ र ८ सय ३३ जना बाँकेमा क्षयरोगी देखिएका थिए ।
नेपालमा दैनिक ४७ जनाको क्षयरोगबाट मृत्यु हुने गर्दछ । क्षयरोग लागेका बिरामी पत्ता लगाउनु नै ठूलो चुनौती रहेको छ । बाँकेमै चार सय बढी रोगी हराइरहेको बताइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जनप्रतिनिधिले भौतिक पूर्वाधारमा मात्रै ध्यान दिने गरेको गुनासो गर्नुभयो । उहाँले राष्ट्रिय अभियानहरु हात्तीपाइले, कुपोषण, क्षयरोग निवारणमा भूमिका खेल्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह, सुनिता पौडेल, राजनीतिक दलका प्रतिनिधिहरुले क्षयरोग दिवसलाई प्रभावकारी रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो ।