गण्डकीको संघर्षपूर्ण जीत
नेपालगञ्ज – नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा गण्डकी प्रदेशको त्रिवेणी एफसीले कर्णाली प्रदेशको लेकाली युथ क्लवलाई पराजित गरेको छ । अतिरिक्त समयमा सम्हालिन नसक्दा कर्णालीले पराजित व्यहोरेको हो ।
खेलमा शुरुवाती अग्रता गण्डकीले लिएको थियो । गण्डकीका बिमल रानाले १७ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । दुई मिनेटमै गोल गरेर कर्णाली खेलमा फर्किएको थियो । कर्णालीका लागि १९ मिनेटमा भुपेन्द्र शाहीले गोल गरेका थिए ।
दुवै पक्षले राम्रा अवसरहरु पाएपनि लामो समयसम्म गोल हुन सकेन । खेल अति नै घम्साघम्सी भएकाले पाँच जनाले पहेको कार्ड खाए । गण्डकीका गौरव श्रेष्ठ, विमल राना, शान्तबहादुर गुरुङ र सरोज योन्जन तथा कर्णालीका नगेन्द्र महताराले पहेलो कार्ड खाए ।
खेलको निर्णय भने अन्तिम मिनेटमा आएर भयो । निर्धारित समय सकिएर थपिएको मिनेटमा गण्डकीका शान्तबहादुर गुरुङले गोल गरेर टीमलाई तीन अंक जोडे । ९४ मिनेटमा गोल भएको थियो । यो खेलको म्यान अफ द म्याच कर्णालीका भुपेन्द्र शाही भए ।
गण्डकीको यो दोस्रो जीत हो । पहिलो खेल लुम्बिनीसँग पराजित भएको गण्डकीले पछिल्लो दुई खेल लगातार जितेको छ ।
कर्णालीले अहिलेसम्म जीत निकाल्न सकेको छैन । खेल सुधार्दै आएको छ । पहिलो खेलमा बागमतिसँग नौ गोल खाएको कर्णाली दोस्रो खेलमा १ नम्बर प्रदेशसँग बराबरी खेलेको थियो । लिगको शीर्षस्थान सुदूरपश्चिम रहेको छ ।