निकुञ्जमा ‘शिकारी’ !, ७५ वटा मुद्दा
नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा बेलाबेलामा चोरी शिकारीका घटना बाहिर आउँछन् । हालै सल्यानका नौ जनालाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।
निकुञ्जका वार्डेन श्यामकुमार शाहका अनुसार, निकुञ्जले हालसम्म ७५ वटा मुद्दा चलाएको छ । त्यसमा ३८ वटा अदालतमा गएको छ । शाहले ३७ वटा मुद्दा कार्यालयमै दर्ता भएको जानकारी दिनुभयो । कार्यालयमा परेका मुद्दामा १२ वटा मुद्दा फैसला हुन बाँकी रहेको छ ।
बाँके राष्ट्रिय निकुञ्ज बाघ र चौकाको संरक्षणका लागि स्थापना गरिएको हो । २०६७ सालमा स्थापना गरिएको निकुञ्जमा २१ वटा बाघ पुगेको छ । बाघको संरक्षण गर्नका लागि बासस्थान र आहारा प्रजातीको बृद्धि हुन आवश्यक हुन्छ । वार्डेन शाहले निकुञ्जमा घाँसे मैदान, पानीको व्यवस्था राम्रो गरिएकाले आहारा प्रजातीको संख्या बृद्धि भएको बताउनुभयो । बाघलाई चाहिने आहारा प्रशस्त रहेका छन् । बाघलाई चाहिने आहारा प्रशस्त रहेकाले बाघ गाउँ नपसेको बताइएको छ ।
निकुञ्जमा रहेका आहारा प्रजाती र बाघको समेत शिकार गर्नका लागि चोर शिकारी सक्रिय हुने गरेको पाइन्छ । अन्तर्राष्ट्रिय बजारमा दुर्लभ वन्यजन्तुको हाड, छालाको माग हुँदा कारोबारीले मध्यवर्ती क्षेत्र र आसपासका सोझा मानिसलाई प्रलोभनमा पारेर संरक्षित जनावर मार्ने प्रयास गरेको घटनाहरुले देखाएको छ ।